कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

महाकवि देवकोटाका सुपुत्रलाई न्यू योर्कवासीले सम्झे

न्यू योर्कको ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरमा ‘एन एन्ड जे इन्टरटेनमेन्ट युएसएले न्यू योर्क शहरमा नवौं न्यू योर्क नेपाली कविता महोत्सव आयोजना गर्‍यो । अक्टोवर १२ तारिख आयोजना गरिएको उक्त कविता महोत्सवमा नेपाली स्थायी नियोगकी नायब प्रमुख सेवा लम्साल अधिकारी प्रमुख अतिथीको रुपमा उपस्थित थिईन् । अन्य अतिथीहरुमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टी अध्यक्ष होमनाथ सुबेदी, देवकोटा अनुसंन्धान केन्द्रका अध्यक्ष तथा महाकवि देवकोटाका सुपुत्र प्राध्यापक डा. पद्म प्रसाद देवकोटा, डा. कमल पाण्डे र अमेरिकी लेखक रङगकर्मी एलेक्स गार्गिलिस थिए ।



यस संस्थाले बिभिन्न क्षेत्रमा योग्दान पुर्याउने ब्यक्तित्वहरुलाई पनि कदर स्वरुप सम्मान गर्दै आएको छ ।यसै शिलसिलामा न्यूटनले प्रतिपादन गरेको ग्र्यभिटिको सिद्धान्त गलत छ भन्दै नयाँ सिद्धान्त प्रतिपादन गरी सन २०१४ मा नोवेल लरेट पुरस्कारको १०० जनाको छनौटमा पर्न सफल २१ बर्षे नेपाली युवा प्रकाश बजगाईलाई प्रमुख अतिथी सेवा लम्साद्वारा खादा ओढाई सम्मान गरिएको थियो ।


प्रा डा पद्म प्रसाद देवकोटाको सभापतित्वमा भएको उक्त कार्यक्रममा राजेन्द्र राइले गीतकार जी शाहको "बाँच्नु नै छ यदि भने बाँच नेपाली भई" गीत प्रस्तुत गरेका थिए । बिजया सिंखडा, सुनिता शर्माले अप्रतियोगी कविता वाचन गरेका थिए भने प्रतियोगी कविहरुमा शकुन्तला ज्ञवाली, अनुरागी अरुण, पुष्पा अधिकारी गौतम, मिलनकुमार शाही, नवराज खड्का, श्रुती अमात्य, वेदा आचार्य थिए ।

उक्त कविता प्रतियोगीतामा अनुरागी अरुण प्रथम भए भने शकुन्तला ज्ञवाली दोस्रो र मिलनकुमार शाही तेस्रो भए । राजेन्द्र राईले सान्त्वना पुरस्कार प्राप्त गरे ।
निर्णायक मण्डलमा बिष्णु सिंह बैजु, मनु लोहोरुङ राई र प्रकाश चापागाई थिए ।

साहित्यकार कमला प्रसाई संस्थापक अध्यक्ष रहेकी एन एन्ड जे इन्टरटेन्मेन्ट 'यु एस ए' ले सहदेव पौडेललाई न्यू योर्कमा पहिलो अनलाईन रेडियो 'हिमाली स्वरहरु' संचालन गरी अनवरत रुपमा नेपाली मनहरुलाई एकिकृत गरेकोमा सम्मान गरिएको थियो । साथै साहित्य क्षेत्रमा विशिष्ट योगदान पुर्याए वापत अनमोल सिटौलालाई ‘एन एन्ड जे वाल साहित्य प्रतिभा पुरस्कार, २०१४’ प्रदान गरिएको थियो । सो अवसरमा प्रा. डा. पद्म प्रसाद देवकोटालाई सम्मान स्वरुप आयोजक संस्था एन एन्ड जे इन्टरटेन्मेन्ट 'यु एस ए' ले कोशेली प्रदान गरेको थियो ।
यसै अवसरमा नेपालीविवाह डट कम (www.nepalivivah.com) वेबसाईट पनि प्रारम्भ गरियो ।


सहदेव पौडेल र बिजया सिंखडाबाट संचालन भएको उक्त कार्यक्रमको समापन गर्ने क्रममा कार्यक्रमका सभापती प्रा. डा. पद्म प्रसाद देवकोटाले यस्ता साहित्यिक कार्यक्रमले नेपाली भाषा र साहित्यको साथै नेपाली संस्कारकै संरक्षण र विकास हुने कुरा बताएका थिए । यस किसिमको प्रयासमा लागिपर्ने साहित्यकार कमला प्रसाईको उच्च मुल्यांकन हुनुपर्ने कुरा व्यक्त गरे।

अन्तिममा, न्यू योर्कमा रहेका दिदी-बहिनीहरुले तयार पारेको खानेकुराले रात्रीभोजलाई रमाईलो बनाई कार्यक्रम समापन भएको थियो ।