कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

देवीप्रसाद थापाको "माइती" सार्वजनिक

माधव अधिकारी

मामा उपनामबाट प्रख्यात, नेपाली मूलका भारतीय लेखक देवीप्रसाद सुँयल थापाको पाचौँ कृति, लघुकथासङ्ग्रह “माइती” आइतबार भारतको मणिपुर काङ्लातोङ्बीमा विमोचन गरिएको छ । ७५ वटा कथा रहेको सो कृतिलाई गोर्खा ज्योति प्रकाशन, मणिपुरले सार्वजनिक गरेको हो । पुस्तकलाई काङ्गलातोङ्बी ग्राम पञ्चातका प्रधान शिव बस्नेत र फयेङ् ग्राम पञ्चायतका प्रधान गोजेन्द्रो सिंहले सार्वजनिक गरेको हो ।

पुस्तकमाथि आफ्ना धारणा राख्दै समालोचक रामप्रसाद पौडेलले चन्द्रेश्वर दुबेपछि सर्वाधिक कृति निकाल्ने मामा दोस्रो मणिपुरेली नेपाली कृतिकार भएको कुरा बताए । प्रत्येक पल्ट नयाँ कृतिसँगै आफूलाई निखार्दै आएका मामाले स्थानिक विषयलाई अँगाल्दा वैश्विक पाठकलाई पनि उत्तिकै ध्यान दिन, र लेखकले निर्णायत्मक अभिमत दिने बानीबाट बच्न जरुरी भएको बताए । कार्यक्रमा विशेष मन्तव्य राख्दै समालोचक महेश पौडेलले मामा मणिपुरबाट आएर नेपाली साहित्य जगतमा ख्याति पाउने कृतिकार भएको बताए । उनले भने मामाबाट भोलिका दिनमा अझ दरिलो कृति आउने सम्भावना रहेको र वर्तमान नेपाली साहित्यको विश्लेषण गर्दै उनले भने, “हामीले धेरै वैश्विक कुरा ग¥यौँ, अब स्थानीय र निजी कुरा गर्नु जरुरी छ ।”



कार्यक्रममा मणिपुर साहित्य परिषद, अखिल मणिपुर गोर्खा विद्यार्थी संगठन, भारतीय गोर्खा परिसंघजस्ता संस्थाका पदाधिकारी र धेरै संख्यामा स्थानीय साहित्यअनुरागी उपस्थित थिए । कार्यक्रमका लेखकीय मन्तव्य दिँदै लेखक मामाले भने, “मेरा आगामी कृति कविता सङ्ग्रह, र त्यसपछि कथा सङ्ग्रह हुनेछन र सबै कृति गोर्खा ज्योति प्रकाशनबाटै आउनेछन् ।” गोर्खा ज्योति, मणिपुरको अग्रणी प्रकाशन हो ।

कार्यक्रमका अतिथिहरू गोजेन्द्रो, शिव बस्नेत, दिलीप कटुवाल, र मणिकुमार लिम्बूले मामालाई थप कृतिहरूका लागि शुभकामना दिँदै कृति प्रकाशनका लागि आर्थिक सहयोगको पनि घोषणा गरेका थिए । कार्यक्रमको अन्त्यमा एक विशेष साहित्य गोष्ठी पनि गरियो, जसमा महेश पौडेल, लोकबहादुर बस्नेत, मुक्ति गौतम, बसन्ती पौडेल, श्रृष्टि पौडेल र रामप्रसाद पौडेलले आफ्ना कृति वाचन गरेका थिए ।