कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

देवकोटा र विद्यापतिको स्मृतिमा राजविराजमा साहित्य गोष्ठी

सगरमाथा साहित्य परिषद्ले नेपाली भाषा साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटा र मैथिली भाषा साहित्यका महाकवि विद्यापतिको स्मृतिमा शनिबार राजविराजमा भव्यतापूर्वक साहित्य गोष्ठीको आयोजना गरेको छ ।
राजविराज जेसीज भवनमा महाकविद्वय देवकोटा र विद्यापतिको गहिरो तथा प्रातस्मरण गर्दै वहाँहरुको वारेमा सहभागीहरुबाट साहित्यिक रचनाहरु वाचन गरिएको थियो ।

‘मानिस ठुलो दिलले हुन्छ, जातले हुँदैन’ र ‘देशिल वयना सबजन मिठ्ठा’ जस्ता अति सरल तर महान युक्तिका रचनाकार एबं महाकविद्वय क्रमशः देवकोटा र विद्यापतिको स्मरणमा एकसाथ गरिएको साहित्यिक गोष्ठीले सकारात्मक सन्देश प्रवाह गरेको वक्ताहरुले बताए ।
परिषद्को नवनिर्वाचित कार्यसमितिको पदस्थापना समारोहसँगै आरम्भ भएको साहित्यिक जमघटमा सुन्ने भन्दा सुनाउने सर्जकहरुको संख्या उल्लेख्य रुपमा पाइन्थ्यो । गर्मी मौसमलाई पनि किन्चित पर्वाह नगरी दिनभरि सहभागी हुनुभएका सबैमा नेपाली एवं मैथिली भाषा र साहित्यप्रति अगाध स्नेह, गहिरो माया र अपूर्व अनुराग रहेको प्रतीत हुन्थ्यो । साहित्यनुरागीहरुका रचना प्रस्तुतिहरुलाई सर्सर्ती हेर्दा ,सुन्दा र केलाउँदा सबै सर्जकहरु दमदार र खारिएका अर्थात एक से एक हुनुहुन्थ्योे ।

प्रमुख अतिथि तेजनारायण शेर्पा रञ्जनले महाकविद्वयको प्रसँगहरु झिकेर तथा नेपाली र मैथिलीमा कविता वाचन गरेर महाकविद्वय देवकोटा र विद्यापतिप्रति समर्पित गर्नुभयो । प्रगतिशील लेखक संघका केन्द्रीय सदस्य राममणि पोखरेलले सप्तरीमा महाकवि विद्यापतिको सालिक निर्माण गर्न जोड दिनुभयो । महाकविद्वयको स्मृतिको अवसरमा वहाँहरुको वारेमा र सम्मानमा उपस्थित वक्ताबाट आ–आफ्ना सटिक भनाइहरु र श्रद्धासुमन व्यक्त गरिएको थियो ।
परिषद्का अध्यक्ष मनोहर कुमार पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उदयपुर साहित्य परिषद्का सदस्य दुर्गाप्रसाद काफ्ले, मैथिली साहित्य परिषद्का अध्यक्ष विवेकानन्द मिश्र, पूर्व अध्यक्ष देवेन्द्र मिश्र, पत्रकार शिवहरि भट्टराई, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रकाश खतिवडाले शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमका सिलसिलामा नेपाली भाषासँगै मैथिली भाषा साहित्यलाई संरक्षण, सम्बद्र्धन र त्यसको बिकास बिस्तार गर्नु पर्ने समग्र महसुस गरिएको थियो ।
सो कार्यक्रममा परिषद्का सदस्यहरु खिलानाथ गौतम र श्यामसुन्दर यादवले क्रमशः महाकवि देवकोटा र महाकवि विद्यापतिको जीवनी, कृति, कृतित्व, योगदानबारे छोटो र मोटामाटी चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा मनोहर कुमार पोखरेल, साधना झा, नन्दलाल आचार्य, कमला भन्साली, मीना ठाकुर, मन्जु श्रेष्ठ, सागर बीर कडारी, बिद्या मिश्र, करुणा झा, इन्द्रबहादुर थापा, गिरीराज पौडेल, किरण झा, बिमला देव, पुनम ठाकुर, धु्रव मण्डल, बिद्यानन्द बेदर्दी, दिलिप झा, बुद्धिलाल विश्वकर्मा लक्ष्मी ठाकुर, बन्दना मिश्रालगायतकाले गीत, गजल, कविता, मुक्तत, प्यारोडी वाचन गर्नुभएको थियो ।
सचिव नन्दलाल आचार्यद्वारा सञ्चालिन कार्यक्रममा उपाध्यक्ष साधना झाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साहित्य गोष्ठी अगाडि वि.स. २०४४ साल कात्तिक २५ गते स्थापित परिषद्को गत असोज ११ गते सम्पन्न सातौं अधिवेशनले नवनिर्वाचित १३ सदस्यीय कार्यसमिति र पाँच सदस्यीय सल्लाहकारको पदस्थापन समारोह र प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको थियो ।
निर्वाचन समितिका संयोजक अनिल कुमार अनल, सदस्यहरु बैद्यनाथ झा र मीना ठाकुरले नवनिर्वाचित कार्यसमितिको नाम घोाषणा गर्दै पदस्थापन गर्नुभएको थियो ।

महाकविहरुप्रति श्रद्धान्जली अर्पण गर्न र सकारात्मक सन्देश प्रवाह गर्न यस किसिमको कार्यक्रमको आयोजना गरिएकोमा सबैले प्रसन्नता व्यक्त गरेका थिए । कार्यक्रममा सप्तरी सेवा केन्द्रका अध्यक्ष कुमार पाठक, अजयकुमार झा, अरविन्द कुमार यादव, मौसम बन्जारा, शिवकान्त सुमन, पुनम पोखरेल, राजिव मिश्र, शंकर शारदा, अमरकिशोर मुखिया, राजेश बिद्रोही, जयराम भगत, मोहन उपाध्याय, अभितकुमार चौधरीलगायत एकसय जनाको उपस्थिति रहेको थियो ।