कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

चिसो दिनमा न्यानो साहित्य जमघट - साहित्य साँझ २०७१

आबिष्कार भारती

नेपाली साहित्य एवं संस्कृतिको जगेर्नाको लागि अमेरिकाको विस्कन्सिन राज्यको म्याडिसन शहरमा नेपाली अमेरिकन मैत्री संघ(नाफा)ले सदा झैं यस बर्ष पनि 'नाफा - साहित्य साँझ २०७१', मार्ग ६ २०७१ तद्-अनुसार  नोवेम्बर २२ २०१४, शनिवारका दिन आयोजना गर्‍यो । सिमसिम पानी हलुका हुस्सुका बिचमा पनि लगभग ११५ जना श्रोता-दर्शकका बिच, मिड्भेल ब्याप्टिस्ट चर्चको हल भित्र भएको यस कार्यक्रमको सुरुवात अग्रज साहित्यकारहरुको तस्बिर समुन्ने पानसमा बत्ती बालेर गरिएको थियो । नाफाका संस्थापक एवं भूतपूर्व अध्यक्ष डा कृष्ण सिजापतीको सभापतित्व र वरीष्ठ साहित्यकार कृष्ण धराबासीको प्रमुख आतिथ्यमा कार्यक्रम अघि बढेको थियो । कार्यक्रम अन्तर्गतका प्रतियोगितात्मक कबिताहरु २ भागमा बांडिएको थियो,'नाफा - बाल साहित्य पुरस्कार' र 'बिजय मल्ल साहित्य पुरस्कार', जस्लाई आन्तरीक र बाह्य गरी ६ जना निर्णायकहरुले जाँच-परख गर्नुभएको थियो । वाह्य मूल्याँकनकर्ता कवी बसन्त गौतम ,कवी एवं गजलकार रवी प्राञ्जल तथा कवी एवं मुक्तककार डा घनश्याम परिश्रमी हुनुहुन्थ्यो भने आन्तरिक रुपमा प्रतियोगिता स्थलमा मूल्याँकन गर्नुहुनेमा डा. गौतम वज्राचार्य, श्रिधर रानाभाट  तथा सीता अर्याल हुनुहुन्थ्यो ।




सम्पूर्ण ज्ञात-अज्ञात साहित्यकार प्रती श्राद्धान्जली एवं एक मिनेट मौन धारण गर्दै कार्यक्रमले पाईला अघी सरेको थियो । नाफाद्वारा सन्चालित नेपाली भाषा सिकाउने कार्यक्रम 'कक्षा'का सहभागी भाइबहिनीहरुले नेपाली राष्ट्रिय गान र श्रब्यद्रिश्य मार्फत अमेरिकि राष्ट्रिय गान प्रस्तुत गरिएको थियो । नाफा - शिक्षा तथा संस्कृति समितीका संयोजक दिनार श्रेष्ठले स्वागत मन्तब्य राख्नु भएको थियो । यस्को लगत्तै १६ बर्ष मुनिका बालबालिकालाई नेपाली भाषा र साहित्यमा जोड्ने प्रयास स्वरुप 'नाफा-बाल साहित्य पुरस्कार' अन्तर्गतका कबिताहरु वाचन गरिएको थियो । अर्चना धख्वाद्वरा संचालित कार्यक्रमको यस भागमा आयुषा थापा, आर्यमान पसछें, अनित्या द्वा, बेलिस्मा श्रेष्ठ, नेहा कराखेती, अन्शुमन अधिकारी, लता शर्मा, ओजस्वी पसछें, निशा आचार्य, श्रीजन श्रेष्ठ, इशिता लुईंटेल, अर्हत द्वा, सृष्टि खनाल, इशान लुईंटेल, सुहानी पाण्डे, मेखा श्रेष्ठ, रिभा श्रेष्ठ, श्रेया श्रेष्ठ र मेलोडी पाठकले कविता प्रस्तुत गर्नुभएको थियो । आफ्ना बुवाका बारेमा निकै भावनात्मक कबिताहरु पस्किएर बालबलिकाहरु बिदा भए लगत्तै   देशभक्तीको रङ्ग बोकेर साहित्य भेलालाई रङ्गाउन 'कक्षा'का भाइ-बहिनीहरु नेपाली राष्ट्र गीत - " बनेको छ पहराले यो छाती मेरो"  लिएर आएका थिए । गीतको लगत्तै कार्यक्रम अन्तर्गतको दोश्रो पुरस्कार,'बिजय मल्ल साहित्य पुरस्कार'का प्रतियोगी कवी-कबयित्रीहरु सन्तोष लामिछाने, हिमाल रेग्मी, अबिमन पसछें, सोम खनाल, निरु ढुंगाना, गंगा मल्ल श्रेष्ठ, बिष्णु थापा, रोशा पोखरेल, वेद धिमाल र बिश्वजित अधिकारीले कबिता वाचन गर्नुभएको थियो ।  साहित्य र देशभक्तीको रस-रङ्गलाई अझै गाडीलो र स्वादिलो बनाउन अप्रतियोगी कवी राजेन्द्र अर्याल, कवी निरशंकर श्रेष्ठ,कवी रमेश खनाल, कवी महेन्द्र पाठक, कवयित्री सिता अर्याल एवं अडियो मार्फत कवी बसन्त गौतम (पोखरा, नेपाल) प्रस्तुत हुनुभएको थियो । कविताको सिल्सिलालाई यहिं पूर्णबिराम लगाएर दिनार श्रेष्ठ र सभापति डा कृष्ण सिजापतीले प्रमुख अतिथी साहित्यकार कृष्ण धराबासी ज्यू लाई अभिनन्दन पत्र एवं उपहार हस्तान्तरण गर्नु भएको थियो । तत्पश्चात प्रमुख अतिथी धराबासी ज्यूले आफ्नो मन्तब्य र आफ्नो चलचित्र झोलाको बारेमा चर्चा गरी सम्पूर्ण श्रोता-दर्शकको समय सजाउनु भएको थियो । प्रमुख अतिथीको हौसला र स्नेहवचनको लागि कृतज्ञता ब्यक्त कार्यक्रम अघी बढेको थियो ।

कार्यक्रममा 'नाफा-बाल साहित्य पुरस्कार' अन्तर्गत सुहानी पाण्डे, मेलोडी पाठक र रिभा श्रेष्ठ क्रमश: पहिली, दोश्री र तेस्री हुनुभएको थियो भने 'बिजय मल्ल साहित्य पुरस्कार' अन्तर्गत सोम खनाल, हिमाल रेग्मी र अबिमन पसछें क्रमश:  पहिलो, दोश्रो र तेश्रो हुनुभएको थियो । सम्पूर्ण प्रतियोगी कवि-कवयित्रीलाई सभापति कृष्ण सिजापती र प्रमुख अतिथी कृष्ण धराबासी द्वयले पुरस्कार एवं प्रमाण पत्र बितरण गर्नु भएको थियो । आबिष्कार भारतीबाट संयोजित र संचालित यस 'नाफा - साहित्य साँझ २०७१' कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद ब्यक्त गर्दै सभापति कृष्ण सिजापती ज्यूले कार्यक्रमलाई पूर्णबिराम लगाउनु भएको थियो । अन्त्यमा ओस्कर अवार्डमा छानीएको नेपाली चलचित्र 'झोला' देखाउने बारे हाँस्यरसले भरिएको कविता लिएर विश्वजित अधिकारी प्रस्तुत भए ।

अर्को बर्ष अझै धेरै उत्साह र कबिताका साथ भेट्ने आशाकासाथ सम्पूर्ण उपस्थित कविताप्रेमी श्रोता-दर्शकलाई साहित्य साँझ कार्यक्रमको परम्परा अनुसार सेल-रोटी सहितको नेपाली खाजा र चियाको लागि आमन्त्रण गरिएको थियो । दिउँसो ३:०० बजे देखी ६:३०बजे सम्म सन्चालित सो साहित्यिक कार्यक्रम भब्यताका साथ सुसम्पन्न भयो ।

खाजाको लगत्तै पछी सती प्रथामा आधारित, साहित्यकार कृष्ण धराबासीद्वारा लिखित, ओस्कर अवार्डमा छानिएको नेपाली कथानक चलचित्र 'झोला'  भब्यताकासाथ १३० दर्शकका सामु प्रदर्शन गरिएको थियो ।