कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अज्ञातको "होङकोङ" हस्ताक्षर कार्यक्रम सम्पन्न

टोपबहादुर याक्खा, हङकङ - जोर्डन स्थित याक एण्ड यति रेष्टुरेण्टमा हङकङबासी कवि तथा साहित्यकार हाङयुग अज्ञातको चाउचाउ कविताकृति “होङकोङ” पुस्तक हस्ताक्षर कार्यक्रम सम्पन्न भयो । करिब २ दर्जन साहित्यकार, पत्रकार तथा गीतसंगितसंग आवद्ध व्यक्तित्वहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा कृतिका बारेमा वरिष्ट पत्रकार तथा समीक्षक जेबी पुन मगरले गहन समीक्षा गरेका थिए भने किन्दर राई, नरेश सुनुवार, बज्र कुमार राई, टंक सम्बाहाम्फे, तुलसी राना, अशोक राई, दिनेश सुब्बा, मनु कन्दङवा आदि साहित्यकार तथा पत्रकारहरुले छोटो टिप्पणी सहित आफ्नो मन्तब्य राखेका थिए ।

बगैचा पब्लिकेशनका संरक्षक तथा कवि नरेश सुनुवार लगायत सबै वक्ताहरुले आफ्नो मन्तब्य राख्ने क्रममा संग्रहका सबैजसो कविताहरु हामीले हङकङमा देखे भोगेका कथाब्यथाहरु समेटिएको भन्दै कविको लेखन शैलीको प्रशंसा गरेका थिए भने कवि अज्ञातले हिजो हामीले हङकङमा बसेर यहि देखे भोगेका तिता मिठा कथाब्यथाहरु लेख्न नसक्नु नै हाम्रो कमजोरी भएको बताउँदै हाम्रो सृजनाहरु पढ्ने पाठकको कमि भएको पोल खुलासा गर्दै अब हामी हङकङबासी लेखकहरुले सबै विधाका सृजनाहरु लेख्दा यहिको विषय वस्तुहरुलाई समेट्दै लैजान आग्रह समेत गरे ।

केहि हप्ता अगाडी मात्रै काठमाण्डौंमा विमोचन गरिएको १३ वटा लामा छोटा कविता सहित चाउचाउ साहित्यको प्रस्तावनापत्र समेत समावेश गरिएको
0१३६ पृष्ठको उक्त कविता संग्रहका बारेमा हङकङबासी वरिष्ट पत्रकार तथा समीक्षक जेबी पुन मगरले भूमिका लेखेका छन् ।

हस्ताक्षर कार्यक्रमका आयोजक हिमालय टोन्स म्युजिक अकाडेमीका डाइरेक्टर एवं वरिष्ट संगीतकार दिनशे सुब्बा सभापति तथा पुस्तक प्रकाशक बगैचा पब्लिकेशनका संरक्षक नरेश सुनुवार प्रमुख अतिथि रहेको उक्त कार्यक्रमलाई समीक्षक समाजका संयोजक हेम कुमार लावतीले संचालन गरेका थिए ।

टेम्पल स्ट्रीटमा
यौन मजदुरको स्तनमा
गाडिएको आँखा
आधा रातमा
ब्यूँतेको रिटायर्ड फोरमेनमा
चुरोट कुहिएको फोक्सोमा
बिरामी जोर्डन !
(बिरामी जार्डन)

ओभरस्मार्ट छ हङकङ
उसैले मात्र भोगेको छ जिन्दगी
उसैले मात्र देखेको छ सबथोक
माचिन्डे
ओभरस्मार्ट छ हङकङ
(हङकङ)

उभ्दाउभ्दै
चौकीदारको जिन्दगी
१२–१२ घण्टा यो हाम्रो होङकोङमा
पैतलाबाट जराहरु पलाएर
हातबाट पातहरु पलाएर
जीउबाट हाँगाहरु पलाएर
म त रुख भइसकेछु ।
(रुख)