कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

च्याब्रुङको आवाज सार्वजनिक

काठमाडौं/ हाङपाल आङबुहाङ लिम्बूको हाइकु कृति ‘च्याब्रुङको आवाज’ शुक्रबार सार्वजनिक भएको छ । विश्व नेपाली साहित्य महासंघ, नेपाल च्याप्टरले राजधानीमा आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति कवि वैरागी काइँलाले कृति सार्वजनिक गरे ।

कार्यक्रममा बोल्दै उनले संक्षिप्त स्वरूपमा बृहत् अर्थ लेख्ने हाइकु विधामा हाङपालजस्ता युवाले कलम चलाउनु सकारात्मक भएको बताए । उनले भने, ‘वास्तवमा भन्नैपर्ने कुरा संक्षिप्त नै हुन्छ । सूक्तिमा हुन्छ । हाइकुलेखन त्यही सूक्तिलेखन हो । यसमा हाङपालको कलमले लय समातेको छ ।’ उनले हाङपालले लिम्बू समुदायमा प्रचलित बाजा च्याब्रुङ प्रयोग गरेर आफ्नो संस्कृति र पहिचानलाई स्थापित गर्न प्रयत्न गरेकोमा खुसीसमेत व्यक्त गरे ।
कार्यक्रममा कवि तथा समीक्षक रामगोपाल आशुतोषले कृतिबारे समीक्षा गरे । उनले भने, ‘हाङपालका हाइकुमा जीवन, प्रकृति र त्यसका विविध आयामलाई जीवन्त ढंगले प्रस्तुत गरिएको छ । उनले जीवन संघर्षलाई काव्यिक अभिव्यक्ति दिएका छन् । विदेशमा बस्नुको पीडा र स्वदेशको सम्झना अभिव्यक्त गरेका छन् । त्यसैगरी गम्भीर सामाजिक र राजनीतिक विषयलाई पनि सम्बोधन गरेका छन् ।’

कार्यक्रममा हाइकुकार हाङपालले आफूले हाइकुको विधागत विशेषतालाई सचेततापूर्वक प्रयोग गर्ने प्रयत्न गरेको बताए । उनले भने, ‘हाइकुको मुटु मानिने प्रकृति र यसको स्पन्दनलाई मैले सकेसम्म समातेको छु ।’ सिंगापुरमा कार्यरत हाङपालको कृति नेपाली साहित्य प्रतिष्ठान, हङकङले प्रकाशन गरेको हो भने वितरण शब्दहार क्रियसन्सले गर्दै छ ।