कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

‘मुक्त अनुभूति’मा मणी र प्रकाश

काठमाडौं, भदौ १६


उपलब्धी सहकारी र शील्पी थिएटरले आयोजना गर्ने ‘मुक्त अनुभूति’को पाँचौ श्रृङ्खलामा शनीबार कवि मणि काफ्ले र प्रकाश थाम्सुहाङले आफ्ना १०–१० वटा कविताहरु सुनाएका छन् । शिल्पी थियटरको गोठाले नाटकघरमा भएको कार्यक्रममा उनीहरुले तीन चरणमा आफ्ना कविता वाचन गरेका थिए भने उनीहरुलाई कविताको विमर्शमा कार्यक्रम संयोजक रोहित खतिवडाले जोडेका थिए ।
पहिलो चरणमा कवि काफ्लेले ‘फर्किजाने बाटो’, ‘तिम्रो आत्मकथा’ र ‘कान्छिमाया’ बाचन गरे । उनले ‘फर्किजाने बाटो’ मार्फत यसरी कवितावाचनको ढोका खोले ।


यो नहिँडेको बाटो
फूलहरूको सहर पुग्नुछ
भन्नुस् त के म
गाउँबाट आउनु अपराध भयो ?

ए सुन्नुस् त !
मलाई जानु छ
मलाई हतारो छ
घाम डुब्नुअघि
मैले एक झोला बिन्ती बिसाउनु छ
के सिंहदरबार यतै पर्छ ?

कविता सुनाउन इलामबाट राजधानी आइपुगेका कवि प्रकाश थाम्सुहाङले तीनथान प्रेमकविता सुनाए पहिलो चरणमा । उनले ‘सिन्ड्रेला’, ‘जाडोको कथा’ र ‘साँझ शब्दचित्रमा’ सुनाए । उनका कविताहरुमा पनि मणीले सुनाएका कवितामा झैं गाउँको सन्दर्भ जोडिएको थियो । त्यसैले कार्यक्रम संयोजक खतिवडाले कविता र गाउँको सम्बन्धबारे बहस चलाए । छ सात बर्ष अघि काठमाडौंमा हुने प्रायः साहित्यिक कार्यक्रममा भेटिने थाम्सुहाङलाई उनले सोधे, ‘तपाईं किन गाउँ फर्किनुभयो ?’ त्यसबेला कवि हुने आत्मविश्वास आर्जन गर्न नसकेकाले गाउँ फर्किएको उनको जवाफ थियो । अर्को एउटा प्रसंगमा कवि थाम्सुहाङले आफ्नो अनुभुति यसरी पोखे, ‘त्यतिबेला मेरो दाइ (कवि हाङयुग अज्ञात) कविता भन्थ्यो, म पैसा भन्थेँ । मलाई कसरी हुन्थ्यो पैसा कमाउनु थियो । खासमा म बिल गेट्स हुन चाहन्थेँ । त्यसैले म विदेश गएँ तर पैसा कमाउन सकिनँ । पैसा नकमाए पनि कविताको कच्चा पदार्थ लिएर आएँ ।’

जनआन्दोलन २०६२÷६३को समयमा चर्चित बनेका कवि मणीलाई खतिवडाको प्रश्न थियो, ‘तपाईं आन्दोलनकारी की कवि ?’ उनले आन्दोलनको समयमा आफू आन्दोलनकारी भए पनि कविता बोकेरै आन्दोलनमा गएको जवाफ दिए । डेढ घण्टा लामो कार्यक्रममा दुइ कविहरुले काठमाडौं र कविता, कविता र सिद्धान्त लगायतका विषयमा विमर्श गरेका थिए । प्रत्येक महिनाको दोस्रो शनिबार शिल्पीमा कवितावाचन तथा कवितामाथि विमर्श हुने गरेकोमा अघिल्लो साता तिहार परेकाले यसपाली महिनाको तेस्रो शनिबार कार्यक्रम गरिएका ‘मुक्त अनुभूति’का संयोजक खतिवडाले जानकारी दिए । यसअघि मुक्त अनुभूतिका चौथो श्रृङ्खलामा कवि बिनोदविक्रम केसी र सरिता तिवारीले कविता वाचन गरेका थिए ।

दोस्रो चरणमा थाम्सुहाङले ‘हरियो ग्रहको मान्छे’ सुनाए । राउटेका मुखिया मानबहादुर शाही तत्कालीन प्रधानमन्त्री पुष्पकमल दहाललाई भेट्न काठमाडौं आएको सन्दर्भमा लेखिएको बताउँदै उनले सुनाए–


तिमी आइपुग्यौ
आफ्नो आदिम अनुहारको चमक बोकेर
तिमी आइपुग्यौ
गहुँ गोरो पसिनाको गन्ध छरेर
तिम्रो काँधमा भिरेको हतियार
तिमी युद्धमा हिडेको हुनुपर्छ
तिमीले पिठ्युमाबोकेको पहाड
टाउकोमा आढेको सुर्जे
घाँटीमा बेरेको जंगली लहरा
तिम्रो गहना हुनुपर्छ
चौडा छातीमा किरिङमिरिङ कोरिएको शब्दहरुले
तिम्रो उत्पतिको कथा भनेको हुनुपर्छ
तिम्रो आँधीजस्तो हिडाई
बिजुली चम्केजस्तो बोली
तिम्रो चट्याङ विचार
तिमी पक्कै देउता हुनुपर्छ ।

उनले ‘उज्यालो यात्रा’, ‘बाजेको कपुरथान’ पनि बाचन गरे । अन्तिम चरणमा काफ्लेले ‘गाउँखाने कथाहरु’, ‘अनाम नागरिक’, ‘हामी’,
‘कान्छी’, ‘प्रेयसी कवियत्री’ र ‘ओ गुगल’ सुनाए–


कति खोज्छौ
तीन अम्मलको पेन्टिमा
सजिने सुन्दरीहरू
कति खोज्छौ
डिस्कोथेकमा नाचिरहेका
अश्लील भिडियो क्लिप्सहरू
वा पोर्न नायिकाहरू ?
लोग्नेले दाइजो नल्याएको भन्दै
मट्टितेल खन्याएर आगो लगाउँदा
जिउँदै डढेकी फूलमती चौधरीको
छातीको घाउ कस्तो चित्रमा अङ्कित छ,
उनको अनुहारको डढेलो छायामा
यो समयको तस्वीर कस्तो देखिन्छ ?
ओ गुगल ! तिमी खोजी गर्न सक्छौ ?

कवि थाम्सुहाङले अन्तिममा ‘पन्ना दाइ’ शिर्षकको पोट्रेट कविता सुनाए । थाम्सुहाङहरुको उत्पत्तिबारेको मिथमा आधारित ‘माक्सीङबुङको कथा’ बाचनसँगै कार्यक्रम सकिएको थियो–


म माक्सिङबुङ
एउटा पुरानो योद्धा
तिखारेर शब्दको धनुवाँण
नयाँ मतलबी शासक विरुद्ध
नयाँ नयाँ झेली थुमहरु विरुद्ध
लड्नु छ अन्तिम युद्ध
ताकी पटक पटक
नउठाओस षडयन्त्रले आफ्नो शीर ।