कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

विश्व नेपाली स्रष्टा कोश प्रकाशित गरिने

काठमाडौँ, २५ कात्तिक

नइ प्रकाशनले संसारभरि रहेका नेपाली भाषाका साहित्यकारहरुको जीवनीकृति "विश्व नेपाली स्रष्टा कोश" प्रकाशित गर्ने भएको छ । न्यूनतम एउटा किताब प्रकाशित गरेका स्रष्टाका मात्र यस कोशमा परिचय प्रकाशित हुने बताइएको छ ।

नेपाली भाषामा लेख्ने नेपालबाहिर भारतमा सबैभन्दा धेरै र नर्वेमा सबैभन्दा थोरै साहित्यकार हालसम्मको सर्वेक्षणमा फेला परेको नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईले बताउनु भएको छ । नेपालका पचहत्तरै जिल्ला र विश्वका पच्चीस वटा मुलुकमा नेपाली भाषामा लेख्ने साहित्यकार रहेको  नइ प्रकाशनले जनाएको छ ।

नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईको लेखनमा "विश्व नारी नेपाली स्रष्टा कोश" प्रकाशित भइसकेको छ । त्यस ग्रन्थमा नेपाल भित्रका ७१ जिल्ला र २० राष्ट्रका ६४५ जना नारी सर्जक रहेका छन् । त्यस ग्रन्थमा समाविष्ट सम्पूर्ण स्रष्टाको परिचय "विश्व नेपाली स्रष्टा कोश"मा साभार गरिने भएको छ । तर त्यस ग्रन्थमा छुट र भूल भएका अनि संशोधन गरिनु पर्ने स्रष्टाहरूसँग आफ्नो बायोडाटाको पनि नइ प्रकाशनले आह्वान गरेको छ ।

२०६६ सालमा काठमाडौंमा सम्पन्न अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनका अवसरमा आयोजक तथा त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले "विश्व नेपाली स्रष्टा कोश" प्रकाशित गर्ने सूचना प्रवाह गर्नु भएको थियो । त्यस सम्मेलनमा १३ मुलुकका स्रष्टाको सहभागिता रहेको थियो ।