कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

देवकोटाको चम्पा उपन्यास अब हिन्दीमा

काठमाडौँ, १६ मङ्सिर । नेपाल प्रज्ञा–प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘चम्पा’उपन्यासलाई हिन्दी भाषामा अनुवाद गरी प्रकाशन गर्ने भएको छ ।

प्रज्ञा–प्रतिष्ठान साहित्य(अनुवाद)विभाग प्रमुख प्रा डा उषा ठाकुरले चालु आवमा देवकोटाको एक मात्र सो उपन्यास अनुवाद गरी प्रकाशनमा ल्याइने जानकारी दिनुभयो ।

उहाँले चालु आवमा नेपाली भाषाका प्रतिनिधि कविताको हिन्दी अनुवाद गरिने, इन्दिरा प्रसाईँको ‘रनमाया’ उपन्यास अङ्ग्रेजीमा अनुवाद गरिने, सार्कका महिला कथाकारका प्रतिनिधि कथा, पाश्चात्य समालोचना र संस्कृत आख्यानको नेपाली अनुवाद गरिने तथा हिन्दीका १५ र नेपाली भाषाका १० कथाको अवधी भाषामा अनुवाद गरिने बताउनुभयो ।



प्राज्ञ प्रा डा ठाकुरका अनुसार रवीन्द्रनाथ ठाकुरका प्रतिनिधि कथाको हिन्दीबाट नेपालीमा अनुवाद तथा रामप्रसाद राय थारुद्वारा लिखित नेपाली भोजपुरी साहित्यको प्रथम उपन्यास ‘थरुहट के बउआ अओर बहुरिया’(थरुहटका छोरा र बुहारी), २०२९ को नेपाली अनुवाद गरिने योजना छ ।

विभागले हिन्दी भाषाको प्रज्ञा पत्रिका ‘रुपान्तरण’को तेस्रो अङ्कको तयारी पनि गर्दैछ । रासस