कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

चित्रकार बाङ्देलको जन्मजयन्तीमा चित्रकला प्रदर्शनी

काठमाडौँ, १४ मङ्सिर-
‘नेपाली आधुनिक कलाका पिता’ लैनसिंह बाङ्देलको ९०औँ जन्मजयन्तीका अवसरमा आगामी पुस ६ गते (२१ डिसेम्बर) आधुनिक कलाकार समाज (सोमा)को आयोजनामा समसामयिक चित्रकला प्रदर्शनी ‘कलापुञ्ज–४’ आयोजना हुने भएको छ ।
बाङ्देलका चेलाहरूको सङ्गठन सोमामा आबद्ध १६ जना नयाँ र पुराना कलाकारका करिब १०० चित्र नेपाल कला परिषद्मा आयोजना हुने प्रदर्शनीमा राखिने छ ।

प्रदर्शनीमा बाङ्देल स्वयंका तथा उहाँका शिष्य शङ्करराजसिंह सुवाल, शङ्करनाथ रिमाल, गोविन्दलालसिंह डङ्गोल, कर्ण मास्के, रमाराज मास्के, चिनीकाजी ताम्राकार, हेम पौडेल, हिरालाल डङ्गोल, श्यामलाल श्रेष्ठ, कान्ति न्यौपाने, हरिबहादुर खड्का, नरेश सैंजु, जीवन राजोपाध्याय, शान्तकुमार राई, टार्जन साङ्पाङ र रत्नकाजी शाक्यका चित्र राखिनाका साथै अग्रज कलाकारलाई सम्मान पनि गरिने सोमाका सचिव राईले जानकारी दिनुभयो ।

परिषद्मा १० दिनसम्म प्रदर्शनी गरिएपछि पोखरामा पुस महिनामा सोही चित्रकलाको प्रदर्शनी हुने बताइएको छ । बाङ्देलले चित्रकला अध्ययन गरेको भारत कोलकातामा पनि उनले प्रकाशन गरेको ‘प्रभात’त्रैमासिक पत्रिकाको पहलमा प्रवासी नेपालीले पुस ६ गते विभिन्न कार्यक्रम गरी बाङ्देल जन्मजयन्ती मनाउँदैछन् । रासस