कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

त्रिनारीरत्नको मूर्ति स्थापना हुने

त्रिमूर्ति निकेतनद्वारा गठित ‘त्रिनारीरत्न स्मारक’ले पूर्णता पाएको छ ।

स्मारकका अध्यक्षमा मोदनाथ प्रश्रित, उपाध्यक्षमा प्रा डा गार्गी शर्मा, सदस्यसचिवमा नरेन्द्रराज प्रसाई तथा सदस्यमा खनुपरूदे (रामबाबु प्रसाई), ताना गौतम, तुलसा थापा गौतम, नरहरि आचार्य, भद्रकुमारी घले, भरतमोहन अधिकारी, मनीषा कोइराला र सुनीता कार्की रहनुभएको छ ।


शारदाकालीन कवि प्रेमराजेश्वरी थापा (१९७२–२०५८) र गोमा (१९८२– २०५९) तथा प्रगतिवादी साहित्यकार पारिजात (१९९४–२०५०)को मूर्ति स्थापना तथा नइत्रिमूर्ति सभागृह निर्माणको काम स्मारकले गर्ने छ ।

थापाका ‘अनुभूति’ र ‘तिम्रो याद वर्षा ’कवितासङ्ग्रह, गोमाका डेढ दर्जन तथा पारिजातका ‘शिरीषको फूल’ उपन्यासलगायत करिब दुई दर्जन कृति प्रकाशित छन् ।



त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले नइ प्रकाशनको संयोजनमा त्रिमूर्ति निकेतनले काम गर्ने गरी आगामी २०७१–७२ मा त्रिनारी रत्न स्मारक स्थापना तथा सभागृह निर्माण गर्ने निर्णय गरेको हो ।

त्रिनारीको छ छ फिटको ढलोटको मूर्ति ओम खत्रीबाट तयार भइसकेको छ । यसअघि त्रिमूर्ति निकेतनद्वारा नै कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा (त्रिमूर्ति) सञ्चारग्राम समिपमा स्थापना भइसकेको छ ।

स्मारकले त्रिनारीको मूर्ति काठमाडौँ उपत्यकामा स्थापनाका लागि सरकारसँग जग्गा माग गरेको छ । सभागृहका लागि भने त्रिमूर्ति निकेतन, नइ प्रकाशन, भूपालमानसिंह कार्की प्रज्ञापरिषद् एवं जनस्तरबाट रकम उठिसकेको तथा त्यसमा विदेशीले पनि सहयोग गर्ने वचन दिएको सदस्यसचिव प्रसाईले जानकारी दिनुभयो । सभागृह भने साहित्यिक र सांस्कृतिक कार्यक्रम गर्न निःशुल्क उपलब्ध गराइने जनाइएको छ । रासस