कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

‘बेहुला-बेहुली’ बजारमा

२२ माघ, काठमाडौं । बालसाहित्यकार गोपीकृष्ण ढुंगानाको सचित्र बालकथा कृति ‘बेहुला-बेहुली’ को विमोचन भएको छ ।
वरिष्ठ साहित्यकार कमलमणि दीक्षित, नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेती, पुस्तक प्रकाशक संघका अध्यक्ष बसन्त थापा र साहित्यकार डा. रामदयाल राकेशले कृतिको विमोचन गरेका थिए ।

दोस्रो राष्ट्रिय पुस्तक मेलाका अवसरमा आयोजित कार्यक्रममा भुँडीपुराण प्रकाशनले प्रकाशन गरेका ज्ञाननिष्ठ ज्ञवालीको ‘रमाउँदै पढौँ’, हरि खनालको ‘चन्द्रमा र मुनियाँ’ र यु जङ्यीले लेखेको कोरियन भाषाको नेपाली अनुवाद ‘छिचिमिरे आँखा’ को पनि विमोचन गरिएको थियो ।

दीक्षितले शुभकामना दिँदै बालसाहित्यको विकासले भोलिका सन्ततीको भविष्य उज्ज्वल हुने बताए । कूलपति उप्रेतीले बालसाहित्यमा प्रयत्नहरू हुन थालेको भन्दै बालबालिकाले बालसाहित्यबाट आत्मसम्मान र प्रोत्साहन पाउने बताए ।

कार्यक्रममा ढुंगानाको बेहुलाबेहुलीबारे बोल्दै बालसाहित्यकार कृष्णदीप सिग्देलले भने, ‘अंग्रेजी भाषामा पनि रहेको यो कृतिले बालबालिकालाई मनोरन्जन दिँदै सामाजिक चेतना जगाएको छ ।’

बालसाहित्यकार प्रमोद प्रदानले ज्ञवालीको रमाउँदै पढौँ कृतिले कदेखि ज्ञसम्म अनुकरणात्मक शब्द सिकाउने बताए ।
वरिष्ठ बालसाहित्यकार रामबाबु सुवेदीले छिचिमिरे आँखाबारे बोल्दै कोरियाको बालसाहित्य नेपाली बालबालिकाले पढ्न पाउनु अवसर भएको बताए ।
प्रकाशक केशवप्रसाद पराजुलीले बालबालिकालाई बेलैदेखि पठन संस्कृतिको विकास गराउन भुँडीपुराण प्रकाशन लागिपरेको बताए ।