कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

राष्ट्रिय कविता महोत्सवमा ‘नयाँ सिमाना’ उत्कृष्ट

२६ माघ, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले सोमबार आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा सुर्खेतका कवि एकल यात्रीको कविता ‘नयाँ सिमाना’ पहिलो भएको छ ।

प्रतिष्ठानको ५७ औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा ३१ कविका कवितालाई पछि पार्दै यात्री पहिलो भएका हुन् । उनले नगद २० हजार रुपैयाँ, पदक र प्रमाणपत्र पाउने छन् ।

यस्तै ओखलढुंगाका चेतनाथ धमलाको ‘पाठशाला’ दोस्रो र काठमाडौंका शशि पण्डितको ‘भ्रम, समय र न्याय’ तेस्रो भएका छन् ।

गोरखाका नारायणप्रसाद पोखरेलको ‘संकल्प’ र लमजुङका हरिशरण परियारको ‘दुर्घटित सपनाहरु र गणतन्त्र’ कवितालाई पनि तेस्रो पुरस्कार दिइने नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग प्रमुख एवम् प्राज्ञ सदस्य अमर गिरीले जानकारी दिए ।

विजयीहरुलाई राष्ट्रपति रामवरण यादवबाट समय लिएर पुरस्कृत गरिने गिरीले जानकारी दिए ।

महोत्सवका लागि सार्बजनिक आह्वान गरेर देशभरबाट कविता संकलन गरिएको थियो । प्रतिष्ठानलाई ५३ जिल्लाबाट प्राप्त २ सय ७६ कविता मध्येबाट ३२ कविका एक-एक वटा कविता प्रतियोगिताका लागि छानिएको थियो ।
कार्यक्रममा २५ जना कविका अप्रतियोगी कविता पनि बाचन गरिएको थियो ।

गत असार ९ गते नै कविता महोत्सव हुनुपर्नेमा प्राज्ञपरिषद गठन नभएकोले ७ महिना ढिलो कविता प्रतियोगिता आयोजना गरिएको हो ।