कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

चौधरीको एकल विश्व काव्ययात्रा सिंगापुरमा

सिँगापुर । शनिबार साँझ सिंगापुरमा २८ डिग्री सेल्सियसको उपयुक्त तापक्रम र मनोरम वातावरण भएता पनि सिँगापुरस्थित “सिभिल सर्भिस सेन्टर” को भव्य प्रेक्ष्यालयको तापक्रम भने हृवात्त्तै बढेको थियो- कौतुहत र उत्साही साहित्यप्रेमी दर्शक-दीर्घाको खचाखच उपस्थितिका कारण ।
दक्षिणपूर्वी एशियाको अत्यन्तै रमणीय एवम् मनमोहक सिँगापुर शहरमा – कवि/गीतकार वसन्त चौधरीको प्रेमिल र स्वप्निल साहित्यिक कार्यक्रम सम्पन्न हुँदै थियो ।

सिँगापुरको स्थानीय समयअनुसार शनिबार साँझ ६ः०० बजे सुरु भएको उक्त मनोरम साहित्यिक जमघट सिँगापुरस्थित नेपाली सोसाइटीको आयोजनामा सम्पन्न भएको हो । उक्त सोसाइटीका अध्यक्ष किशोर पन्तले कार्यक्रममा स्वागत मन्तव्य राख्दै कवि/गीतकार वसन्त चौधरीको बहुआयामिक व्यक्तित्वबाट आफू ज्यादै प्रभावित भएको र प्रवासमा रहेका धेरै नेपालीहरूले उहाँबाट धेरै कुरा सिक्नसक्ने बताए ।

कवि/गीतकार चौधरीका प्रेमरसयुक्त रचनाहरूको रसास्वादन गर्दा दर्शक-दीर्धा स्वयम् प्रेममा चुर्लुम्म डुबेको अनुभव गर्दै थिए- कार्यक्रमका एक दर्शकका अनुसार ।

सो अवसरमा कवि/गीतकार वसन्त चौधरीको साहित्यिक र सामाजिक व्यक्तित्व एवम् कृतित्व समेटिएको रोचक श्रव्य-दृश्य सामाग्री प्रस्तुत गर्दै “नेपाली सोसाइटी सिँगापुरका पदाधिकारी कृष्ण पौडेलले कवि/गीतकार चौधरीमाथि प्रकाश पारेका थिए ।