कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

कोरियामा फुल्यो वसन्त कविता

“मालीदाइ!
बिर्सेर आफैँलाई, तपाई त फुलाउनु हुन्छ, फूल
यि पत्थरहरुका माझबाट
यि काँडाका झ्याङहरुबाट
एकपटक टपक्क टिपेर मेरो देशलाई
तपाईको बगैँचामा सार्न मिल्दैन्?
मेरो देशलाई फूल बनाएर फुलाउन मिल्दैन्,
किन किन मालीदाइ,
मेरो देश, फूल भएर फुलेको हेर्ने रहर छ ।“

कवि जीवन खत्रीले यहि कविता वाचन गर्दै उद्घोषकको भूमिकामा उभिएर “वसन्त कविता २०१५“ को ढोका उघारे । यहि अप्रिल १९ आइतबार दक्षिण कोरियाको थेगु शहर स्थित तारा होटलमा तिन दर्जन बढि कवि, गजलकारहरु कविता गजल सुन्न र सुनाउन भेला भएका थिए । बिहान ११ः३० बजेदेखि सुरु भएको कार्यक्रममा लगत्तै ’हिँउदको लामो रात’ शिर्षक कविता बोकेर रमेश सायनले अगाडी देखा परे र आम युवाहरुको मानसिकताको चित्र स्पष्ट देखाए ।

’चौध वर्षे किशोर
किन उमेर बढाएर नाकरिता र राहादानी बनाउँछ
मैले तस्करबाट किनेको बन्दुक
हावामा पड्काउँदै हिँड्दा
किन सरकारका पाँचै इन्द्रिय एकै पल्ट निदाउँछन् ?
किन अमेरिका मुसलमानको अनुहार मनपराउँदैन
किन मुसलमानहरु पैगम्बर मोहम्मदको कार्टुन चित्र चिन्दैनन्
सपनामा आफ्नै मृत्यु देखेर बौलाएको उत्तर कोरियाली राष्ट्रपती
देशमा किन अनौैठा कानुन लगाउँछ ?…’
कवि सायनको यहि कविता सुनेर दर्शकदिर्घामा बसेका कविहरुले तालीको बर्सा गराए। अर्का कवि कस्तुप गैरेले ’त्रासद समय’ शिर्षकमा देशको बिगतले थिलथिलो पारेको वर्तमान पस्किए ।

कतै देख्यौ भने यदि
सारङ्गी रेट्दै गरेका गाइने दाइ
कतै सुन्यौं भने यदि
त्रासले छटपटाइरहेका चराहरुको चीत्कार
सम्झिनु चिर निद्राबाट बिउँझिने समय आइसक्यो ।
गजलकार, शकुन आँशुको गजल सुनाइन्।
जीवन कैले गुञ्जिने हो गीत बनेर
यतिञ्जेल बाँचिराछु भयभित बनेर
त्यस्तै अर्की मुक्तकार कल्पना राईले मुक्तक सुनाइन्
कस्तो अनौठो नाप नभाको जिन्दगी
गुणस्तरको छाप नभाको जिन्दगी
पोल्दै पिटियो भाग्य आरनमा हाल्दै,
बन्यो धारिलो दाप नभाको जिन्दगी
मुक्तककै माहोलमा थपिए खगेन्द्र पराजुली समयसामयिक मुक्तक बोकेर
बहादुरीको कथा सुनाएर बिरालो बाघ हुने भए
चर्तुयाइँको कथा सुनाएर बकुल्लो काग हुने भए
मेरी आमाको मुहार उहिल्यै चन्द्रमा भइसक्ने थियो
कपूतहरुमा अलिकति नैतिकता र लाज हुने भए
हरेक दिन रात पसिना बगाउँदै हतार हतार कामको ध्याउन्नमा दौडिरहने कविमनहरुले कविता, गीतगजल सुन्दा कम्पनीको दुःख पिडा सबै बिसिर्सर कविताको आनन्दमा डुबेझैँ देखिन्थे ।

त्यसपछि कार्यक्रममा इजरायलमा बस्दै आइरहेकी कवयित्री समाश्री अनलाइनबाट जोडीइन्। आफ्नो काम भ्याएर प्रवाशमा समेत नेपाली साहित्यको यस्तो कार्यक्रम हुनुले खुुसि लागेको बताउँदै मुखुण्डो शिर्षकको कविता सुनाइन्। त्यस्तै अष्ट्रेलीया रहँदै आएका कवि निष्प्रभसजीले र युएईलाई कर्मभूमि बनाउँदै आएका कवि पञ्च भीस्मृतलेपनि कविता अनलाईनबाटै सुनाउन भ्याए।

वसन्तको सुन्दर आगमनसँगै यतिबेला जतैततै फूलैफूल फुलेको र कविहृदयपनि फूलसँग हराउन सक्ने भएकाले वसन्त कविता,२०१५ नाम दिइएको बताउँदै आयोजक मध्येका एक कवि अञ्जान काँइलाले ’प्रवास’ शिर्षक कवितामा प्रवासी युवाहरुले भोगिरहेका बेदना सुनाए।
उपस्थित मध्ये कतिले राती काम भ्याएर आराम नगरी त कतिले पालो मिलाएर समेत उपस्थित भएको बताउँदा उनिहरुको साहित्यप्रतिको आकर्षण स्पष्ट देखिन्थ्यो। त्यसो त यो कार्यक्रमले नेपाली साहित्यकर्मी्बिच भेटघाट, एकअर्काका पिडा साटासाट गर्न समेत राम्रो बाताबरण बनाएको देखिन्थ्यो।
कुनै पनि आयोजक संस्था नरहेको उक्त कार्यक्रममा उपस्थितहरु आफै आयोजक, आफै दर्शक श्रोता भएको र कार्यक्रममा कोही अतिथि नराखी संचालन गरिएकालेपनि कार्यक्रम फरक महसुस गर्न सकिन्थ्यो। कार्यक्रम युट्युब बाट विश्वभरिनै हेर्न मिल्नेगरी प्रत्यक्ष प्रशारण गरिएको थियो।
लगभग ३ घण्टा निरन्तर चलेको उक्त कार्यक्रममा, बिनोद बान्तवा राई, मिलन किराती, अजय राई, गंगा पौड्याल, अज्ञात पाल्पाली, आनन्द भट्टराई, देव सागर, श्रीराम गुरुङ, लबकुश माल्टाली, मणी भुषाल, छबिशित गुरुङ, फडिन्द्र भण्डारी लगायत दर्जनौ स्रष्टाले गीत गजल कविता मुक्तक सुनाए।
साथै उनीहरुले समाजिक सँजालमा वसन्त कविता नामक गुप्र च्याटमा बसि साहित्यको बृद्धि विकासमा लाग्ने तथा अन्य कार्यक्रमहरुपनि गर्दै जाने बताएका छन् ।