कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

दोस्रो विश्वब्यापी खुल्ला कविता प्रतियोगिता सन् २०१५ मा पाँचथरका सुब्बा प्रथम

गत २९ मे २०१५ का दिन आठौ गणतन्त्र दिवसको अवसरमा सार्वजनिक दोस्रो विश्वब्यापी खुल्ला कविता प्रतियोगिता सन् २०१५ को नतिजामा पान्थरका शन्देश सुब्बाको ‘सिकर्मी’ शिर्षकको कविता प्रथम भएको छ । सुब्बा ११४ प्रतियोगीलाई पछि पार्दै प्रथम भएका हुन ।

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको आयोजना र विभिन्न ६ साहित्यिक संस्थाहरुको सहआयोजनामा सम्पन्न विश्वब्यापी प्रतियोगितामा फत्तेपुर सप्तरीका शंकर निरौला निरक्षर ‘देश देश जस्तो छैन’ शिर्षकको कविता दोस्रो र काठमाडौंका कवि प्रथाको ‘समाजशास्त्रको आँसु’ तेस्रो बनेकोे छ । त्यस्तै गरि महिलामा उत्कृष्ट युकेकी भावना ‘परिष्कृत’ सुनुवार हुनुभएको छ भने भाषाभाषी तर्फ मैथिलीमा पुनम ठाकुर पुरस्कृत घोषित हुनु भएको छ । राई वान्तावा, लिम्बु, सुनुवार, मगर र मैथिली भाषाका कविताहरु समाविष्ट थिए । एकै भाषाको ८ भन्दा बढि प्राप्त भएकालाई मूल्याङ्कन गरि पुरस्कृत गरिएको हो ।

विजयी प्रथम, दोस्रो, तेस्रोले क्रमशः नगद रु २० हजार, १० हजार, ५ हजार र उत्कृष्ट द्धयले ५÷५ हजार नगद सहित प्रमाणपत्र प्राप्त गर्नेछन भने उत्कृष्ट २० कविताहरुको चाईनिज र हिन्दीमा अनुवाद गरि कृति प्रकाशन गरिने छ । विजयीहरुलाई अनुकुलता मिलाई कार्यक्रम गरि पुरस्कारहरु हस्तान्तरण गरिनेछ । प्रतियोगितामा नेपालका २८ जिल्ला र १३ मुलुकबाट जम्मा १३४ ले सहभागिता जनाएका थिए । यस अघि साहित्य महासङ्घले सन् २०११ मा प्रथम विश्वब्यापी कविता प्रतियोगिताको आयोजना गरेको थियो ।

साहित्य महासङ्घको केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अमेरिकाबाट पूर्व अध्यक्ष डा. मधुमाधुर्य, रसियाबाट सल्लाहकार कृष्णप्रकाश श्रेष्ठ, युकेबाट डा. कविताराम श्रेष्ठले गणतन्त्र दिवसको शुभकामना तथा विजयी कविहरुलाई बधाई दिनु भएको थियो । प्रतियोगिताका नतिजा उपाध्यक्ष सुरेन्द्र लिम्बुले घोषणा गर्नुभएको थियो भने कविताहरुलाई भारत सिक्किमबाट डा. राजेन्द्र भण्डारी, डा. कविता लामा र काठमाडौंबाट युवाकविहरुको प्रतिनिधित्व गर्दै ठाकुर वेलवासेले मूल्याङ्कन गर्नुभएको थियो । मूल्याङ्कनकर्ताहरु पूर्ण गोप्य रहेका थिए भने वहाहरुले दिएको अंकको जोडफलको आधारमा विजयी चयन भएका हुन । पहिलो चरणको मूल्याङ्कन सुर्खेतबाट खगेन्द्र अधिकारी ‘अमृत’ र इजरायलबाट सुनिता राईलिम्बुले गर्नुभएको थियो । समारोहमा एक दर्जन कविहरुले आआफ्नो सिर्जना वाचन पनि गरेका थिए ।

गत बैशाक १ गते सार्वजनिक गर्ने कार्यक्रमलाई महाभूकम्पको कारण एक महिना पछि सारिएको थियो । महाभूकम्पमा परेकालाई उद्धार र राहतको काममा प्रभावकारिताहुन सकोस भन्ने उद्देश्यले साहित्य महासङ्घले नगद ५० हजार रासिको पुरस्कार घोषणा गरिसकेको छ । उद्धार कार्यमा उत्कृष्ट काम गर्ने ब्यक्तिको छनौटको लागि नामहरु संकलन शुरु गरिएको अध्यक्ष तिगेलाले जानकारी गराउनु भयो । प्रतियोगितामा विजयी, सम्पूर्ण सहभागि, प्रत्येक्षअप्रत्यक्ष सहयोगि, संलग्न तथा प्रायोजन गरिदिनुहुने सबैलाई धन्यवाद साथै गणतन्त्रको शुभकामना अध्यक्ष तिगेलाले दिनुभयो । बैठकलाई ताइवानबाट महासचिव डा. लेखनाथ काफ्लेले संचालन गर्नुभएको थियो ।

साहित्य महासङ्घको विश्वभर १७ मुलुकमा २४ शाखाहरु रहेका छन् । प्रतियोगितामा सहभागि भएका कविताहरु साहित्य महासङ्घको वेभसाइट gfnl.org मा कविको आफ्नै स्वरमा पटकपटक सुन्न सकिन्छ, पढ्न सकिन्छ र हेर्न सकिन्छ । यस प्रकारको सुविधा रहेको नेपाली साहित्यको इतिहासमा अन्य प्रतियोगिता भएका छैन्न ।