कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

गजल सङ्ग्रह आगमनको समीक्षा एवम् गीत सार्वजनिकीकरण

सुर्खेत ।  असारको महिनाको करिब करिब मध्यान्ह किसानहरुलाई खेतमा रोपाई गर्नको चटारो भइरहेको बेला सुर्खेती साहित्यकारहरु भने रचना सुन्न र सुनाउन अनि गजलकार बासुदेब पाण्डेय प्रभाकरको कृति ‘आगमन’ को समीक्षा गर्नमा मात्र होइन महेश कुमार पुरीद्धारा रचना गरिएको यज्ञ गरीको संगीत र अशु सिंहको स्वरमा घन्किएको गीत ‘शित झार्ने चन्द्रमालाई छुन मन लाग्यो’ सुन्नमा व्यस्त थिए ।

होटल बाटिकाको सभाहलमा मध्यपश्चिमाञ्चल गजल मञ्च सुर्खेतको आयोजनामा भएको उक्त कार्यक्रम पसिनाकवि ऋषि प्रसाद थानीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा छन्द कवितामा राम्रो दख्खल राख्ने अग्रज कवि खोपीराम लम्सालले गजलकार बासुदेब पाण्डेय प्रभाकरको कृति ‘आगमन’ को समीक्षा गर्नुभएको थियो भने महेश कुमार पुरीद्धारा रचना गरिएको यज्ञ गरीको संगीत र अशु सिंहको स्वर रहेको गीत ‘शित झार्ने चन्द्रमालाई छुन मन लाग्यो’ को प्रमुख अतिथि ऋषिप्रपाद थानीले सार्वजनिकीकरण गर्नु भएको थियो ।

नेपाल सरकारले भरखरै प्रदान गरेको नाट्य विधाको क्षेत्रीय प्रतिभा पुरस्कार प्राप्त गर्ने सुर्खेती नाटककार गणेशभक्त गौतमलाई दोसल्ला ओढाएर गजल मञ्चको तर्फबाट बधाई ज्ञापन गरिएको थियो । कार्यक्रममा ३७ जना स्रष्टाहरुले आ–आफ्ना रचना वाचन गरेका थिए ।


कार्यक्रममा डा. दीपक गौतम, ऋषि शर्मा सुदामा, महेन्द्र चन्द महासागर, सिम्ताली एकता समाजका अध्यक्ष विष्णु महतारा, कृष्ण आचार्य, पुरुषोत्तम सापकोटा, पूर्ण भण्डारी, सरस्वती पन्त, विद्या निर्दोष पहाडी लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । उत्साहजनक उपस्थिति रहेको उक्त कार्यक्रममा अतिथिहरुलाई संस्थाका उपाध्यक्ष सन्देश कठायतले शब्दद्धारा स्वागत गरेका थिए । संस्थाका अध्यक्ष खगेन्द्र अधिकारी ‘अमृत’ को सभापतित्वमा भएको कार्यक्रमलाई संस्थाका महासचिव पहल असिम थापाले संचालन गरेका थिए ।