कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

‘रातो पासपोर्ट’ को आम्दानी हेल्प नेपाललाई

बेलायतमा गत वर्ष प्रकाशित नेपाली कृतिहरुमध्ये उत्कृष्ट ठहरिएको कृति ‘रातो पासपोर्ट’ को बिक्रीबाट उठेको रकममध्ये अहिलेसम्म संकलित रु एकलाख हेल्पनेपाल नेटवर्कलाई प्रदान गरिएको छ।


वरिष्ठ पत्रकार गोविन्द बेल्वासेद्वारा लिखित उक्त कथासंग्रहको बिक्रीबाट प्राप्त हुने सबै रकम हेल्प नेपाल नेटवर्कले स्थापना गर्न लागेको रु दश करोडको अक्षयकोषलाई दिइने कथाकार बेल्बासेले यसअघि नै घोषणा गर्नुभएको थियो।

जसअनुसार अहिलेसम्म उठेको रु एक लाख रुपियाँ मदनकृष्ण अर्यालले हालै काठमाण्डौमा नेटवर्कका संस्थापक रबीन्द्र मिश्रलाई हस्तान्तरण गर्नुभयो।

भोलि आइतबार हेल्प नेपाल नेटवर्क युकेले लण्डनको रोयल अल्बर्ट हलमा आयोजना गर्न लागेको नेपाली सांगीतिक साँझमा भाग लिन आउने दर्शकहरुले हेल्प नेपालका स्वयमसेवकहरु वा लेखक स्वयम्लाई 07973154813 मा फोन गरी सो कथा संग्रह प्राप्त गर्न सक्ने जनाइएको छ। साथै belbase@gmail.com मा इमेल पठाएर पनि पुस्तक मगाउन सकिनेछ। सो कथा संग्रहको मूल्य बेलायतमा हुलाक खर्च सहित सात पौण्ड राखिएको छ।

यस अघि नेपाली साहित्य विकास परिषद् युकेले स्थापना गरेको नेपाली साहित्य पुरस्कारका लागि गतवर्ष युकेका स्रष्टाहरुबाट प्रकाशित कृतिहरुमध्येबाट सो कृति उत्कृष्ट ठहरिएको थियो ।
त्यसैगरी सागर सिल्वालको ‘सागरको मोति’ गजल संग्रह दोस्रो र हरिसिंह थापाको ‘उत्तराखण्ड चारधाम यात्रा अनुभूति’ तेस्रो भएका थिए।

कृति मूल्यांकनका लागि दुर्गाप्रसाद पोखरेलको संयोजकत्वमा खगेन्द्र नेपाली, वाचस्पति रेग्मी, केशव पुडासैनी र डा. मीन रानाभाट सदस्य रहेको छनोट समिति बनाइएको थियो ।