कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

नेपाली शब्दकोशमा ६५ हजार शब्द थपिने

काठमाडौँ, असार १२ -नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘प्रज्ञा बृहत् नेपाली शब्दकोश’को काम आगामी आवदेखि अगाडि बढाउने भएको छ । ‘बृहत् नेपाली शब्दकोश’(विसं २०४०)कै संशोधित तथा परिमार्जित रुपको सो शब्दकोशमा हालका करिब ६० हजार शब्दमा नेपालका विभिन्न भाषिका, मातृभाषा र पहिले समाविष्ट गर्न छुट भएका करिब ६५ हजार शब्द थपिने प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्रा डा जीवेन्द्रदेव गिरीले जानकारी दिए ।

प्रज्ञा–प्रतिष्ठानको प्रकाशनमा यस वर्ष नेपालको इतिहास, राना थारु व्याकरण, नेपालका चाडपर्व, नेपाली महिला साहित्यकार, नेपाली लोकवार्ता, मातृभाषा कवितासङ्ग्रह, भाषा पारिभाषिक शब्दकोश, प्रज्ञा नेपाली सन्दर्भ व्याकरण, काव्यविमर्श, आधुनिक नेपाली कथा(भाग–३) तथा दर्शनसम्बन्धी कृति आउँदैछ ।

नेपाली, हिन्दी र अङ्ग्रेजी त्रैभाषिक पत्रिका ‘रुपान्तरण’ भने प्राज्ञ प्रा डा उषा ठाकुरको प्रधानसम्पादकत्वमा यही असोज ६ गते विमोचन भइसकेको छ । अर्काे वर्ष कानुन, राजनीति, सञ्चार, विज्ञानप्रविधि, कृषि, दर्शन, भूगोल, उद्योगवाणिज्य, शिक्षा, खेलकुदसम्बन्धी पारिभाषिक शब्दकोश पनि प्रकाशन हुने जनाइएको छ ।