कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

रबरको मान्छे र मुर्छित स्वरहरु

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानकर्मी दुई स्रष्टाका कृति प्रकाशनमा आएका छन् । प्राज्ञ परिषद् सम्पर्क विभागका शशी चालिसेको ‘रबरको मान्छे’ र कम्प्युटर शाखाका रञ्जन घिमिरे कल्पितको ‘मुच्र्छित स्वरहरु’ शीर्षक काव्यकृति क्रमशः अम्बिका चालिसे पोखरेल, ललितपुर–२ सानेपा तथा सुवर्ण घिमिरे(कट्टेल)ले गत साल प्रकाशन गर्नुभएको हो ।
पहिलो कृतिमा परिस्थितिको विषमताले सिर्जना गरेका निजी पीडा, संवेदना र हल्का आक्रोश पोखिएका छोटा र छरिता ४२ कविता छन् । तिनले राजनीतिक, सामाजिक तथा प्रशासनिक वृत्तमा व्याप्त बेथितिमाथि प्रहार गरेका छन् । यहाँको विकृति देखेर ‘गोरखा भूकम्प’आउनुपूर्व नै उहाँले लेख्नुभएको छ–

यस्तै हो भने
यहाँ विध्वंसात्मक भूकम्प आई
महाप्रलय गराउन सक्छ
बिजुली आगो झैँ बल्न सक्छ
म पनि जल्न सक्छु
तिमी पनि जल्न सक्छौँ
सायद हामी सबै खरानी भई
धुलै धुलोको कणमा
परिणत हुन सक्छौँ(यस्तै हो भने)
दोेस्रो कृतिमा समसामयिक सन्दर्भका विकृति, मानवमूल्यमा आएको ह्रास तथा व्यक्ति, समाज र राष्ट्रलाई अन्योलबाट मुक्त गर्ने विचारसहितका २४ कविता समाविष्ट छन् । देशलाई खोक्रो पार्नेहरुप्रति कवि यसरी आक्रोश पोख्नुहुन्छ–
जति मोज गर्नु छ
जति भोज खानु छ
अनि जति ऐस आराम गर्नु छ
गरिहाल तत्काल
तिम्रो समय निकै कम छ (खानेहरु हो, सुन !)

दुवै कृतिमा कविका भावना उच्च भए पनि प्रस्तुतिमा निखार आउन बाँकी रहेकाले अझ बढी अध्ययन र लेखनका लागि भूमिका लेखकहरुले सुझाव दिनुभएको छ । रासस