कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

बेलायतमा २०१ औं भानु जयन्ती तथा साहित्यिक कार्यक्रम सम्पन्न


 लण्डन - “समाज उत्थानका लागि सिर्जना” नाराका साथ ४ जुलाई २०१५ को दिनमा लण्डन स्थित नेपाली राजदूतावासको सभाहलमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टर तथा मुक्तक प्रतिष्ठान नेपाल, बेलायत शाखाको संयुक्त आयोजनामा २०१ औं भानु जयन्ती तथा भव्य साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।



बेलायतमा टिकट किनेर साहित्यिक सिर्जना श्रवन गर्ने यो ऐतिहासिक पहिलो पटकको कार्यक्रम रहेको छ । यस कार्यक्रमबाट उठेको सातसय अस्सी पाउण्ड झण्डै नेपाली रुपैया एकलाख तेइस हजार बराबरको रकम कार्यक्रमकै दिन नेपालको प्रधानमन्त्रि दैविक प्रकोप कोषमा जम्मा गर्नेगरी का.वा. राजदूत मार्फत बुझाईएको छ ।  डा. रुपक श्रेष्ठ (अनेसास बेलायत च्याप्टर)का अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपालका का.वा. राजदूत तेज बहादुर क्षेत्री तथा विशेष अतिथि नेपालबाट बेलायत आएका प्राज्ञ सभासदस्य, उपाध्यक्ष नेपाल मुक्तक प्रतिष्ठानका वियोगी बुढाथोकी थिए । त्यस्तै धेरै संघसंस्थाहरुबाट आएका अतिथि महानुभावहरु तथा सर्जकहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमलाई लारा (लक्ष्मि थापाराई), अनेसास बेलायत च्याप्टरकी महासचिवले कार्यक्रमलाई रोचकपूर्ण शैलीमा सञ्चालन गरेकी थिईन । दुईदर्जन भन्दा बढि सर्जकहरु द्वारा सिर्जनाहरु वाचन, पुस्तक लोकार्पण तथा मिठो गीतहरुको प्रस्तुती रहेको कार्यक्रमका मुख्य संयोजक अनेसास उपाध्यक्ष युरोप क्षेत्रीय तथा अनेसास बेलायत च्याप्टरका सल्लाहकार सुमलकुमार गुरुङ थिए । सहभागीहरुलाई आसन ग्रहण गराए पश्चात स्वागत मन्तव्यका लागि अनेसास बेलायत च्याप्टरका उपाध्यक्ष नारायण गाउँलेले हललाई सम्बोधन गरेका थिए । एक मिनटको महाभूकम्प पीडितहरुलाई श्रद्धान्जली अर्पण गर्नका लागि मौन धारणा पश्चात धडाधड सिर्जना वाचनको दौर शुरु भएको थियो ।

उत्कृष्ट मुक्तक, गजल तथा कविता वाचन माझ भानुलाई श्रद्धाञ्दली अर्पण गर्नका लागि उनको तस्वीरमा डायसमा आसिन व्यक्तित्वहरुबाट पुष्प चढाएका थिए । भानुभक्त आचार्यको जीवनी र नेपाली भाषा साहित्यमा योगदान बारे संक्षिप्तमा मुक्तक प्रतिष्ठान बेलायत च्याप्टरका अध्यक्ष दुर्गा प्रसाद पोख्रेलले प्रकाश पारेका थिए ।  त्यसपछि फेरी कविता वाचनको क्रम निरन्तर रहेको थियो । यस कार्यक्रममा कविता, मुक्तक, गजल तथा गीत प्रस्तुत गरेका सर्जकहरु क्रमशः नारायण गाउँले, दुर्गाप्रसाद पोख्रेल, विजय हितान मगर, किरन टि.लिम्बू, खुशी लिम्बू, योगेश गुरुङ, सागर सिलवाल, जगन्नाथ अधिकारी, मोती भण्डारी, भोजराज बराल, रेखा खरेल, प्रियंका आचार्य, कुमार केसी, हिमाल श्रेष्ठ, सुजी गुरुङ, प्रतिमा केसी, सुमलकुमार गुरुङ, रुपक श्रेष्ठ, जानु काम्बाङ, बिरु मुकारुङ, सुनिल सिंह लाबुङ, विवेक श्रेष्ठ, नवराज घिमिरे, सुमाया राई, राज श्रेष्ठ, वियोगी बुढाथोकी, फडिन्द्र भट्टराई, शशि थापासुब्बा, लारा आदिले (२९ जनाले) आ–आफ्ना श्रेष्ठतम सिर्जनाहरु सुनाएर तथा मिठा गीत प्रस्तुत गरेर माहोल अत्यन्त रमाइलो बनाएका थिए ।

साहित्य अनुरागीहरुको पनि बाक्लो सहभागिता थियो । धेरैले कार्यक्रमलाई औधि रुचाउदै प्रशंसा गरेका थिए । कार्यक्रमको अर्को आकर्षण युवाकवि नवराज घिमिरेको पहिलो पुस्तकको विमोचन रहेको थियो । प्रमुख अतिथि, विशेष अतिथि तथा अन्य अतिथिहरुबाट सामुहिक रुपमा गजल सङ्ग्रह “एकाग्र”को लोकार्पण पनि अत्यन्त भव्यताको साथ सम्पन्न भएको थियो । उनको पुस्तक “एकाग्र”माथि कौन्सिलर तथा सर्जक सागर सिलवालले टिप्पणी प्रस्तुत गरेका थिए । राहत रकम हस्तान्तरण गर्नु अघि सुमलकुमार गुरुङले उठेको रकम बारे प्रकाश पार्दै रकम सामुहिक रुपमा प्रदान गरेका थिए । अन्त्यमा डा. रुपक श्रेष्ठले आफ्नो मुक्तक वाचन गर्दै कार्यक्रम समापन भएको उद्घोषन गरेका थिए । तीन घन्टा अविछिन्न रुपमा सञ्चालन भएको यस कार्यक्रमले उपस्थित सबैको मन छोएको थियो । कार्यक्रममा जलपानको पनि व्यवस्था रहेको थियो ।