कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

इन्द्रमायाको देशमा प्रकाशित

अर्जुन खनाल /असार १८ । प्रशिद्ध कवि तथा कथाकार एल. बी . क्षेत्रीको नयाँ कथा संग्रह इन्द्रमायाको देशमा प्रकाशित भएको छ । नेपाली जनजीवनका बिबिध पाटाहरूलाई मौलिक तथा कलात्मक ढंगबाट प्रस्तुत गरिएको उक्त कथासंग्रहमा बाइसवटा कथाहरू समावेस छन् । चितवनलाई आधार मानेर साहित्य सिर्जना गर्ने साहित्यकार क्षेत्रीका त्रिशंकुको देशमा ( लघुकथा संग्रह, २०६४ ), भीडमा हराएको मान्छे ( कविता संग्रह, २०७१ ) लगायत कृतिहरू प्रकाशित भइसकेका छन् ।

 चितवनमा कविडांडाको स्थापना गरेर साहित्यिक कार्यक्रमहरू आयोजना गरिरहने एल . वी क्षेत्री चरैवेती साहित्यिक त्रैमासिकको सम्पादक / प्रकाशक हुनुहुन्छ ।बरिष्ठ समालोचक डा . गोविन्दराज भट्टराइले इन्द्रमायाको देशबारे भन्नुहुन्छ – यसको भाषा अति सुन्दर, धेरै अलंकृत होइन, तर पात्रको परिस्थति अनुसार सबैतिर सलल बग्ने सरल र परिष्कृत छ ।

त्यस्तै बरिष्ठ समालोचक डा . लक्ष्मण गौतमले भन्नुहुन्छ – इन्द्रमायाको देशमा नामक कृतिमा लेखक कथाकार र लघुकथाकार दुवै रुपमा उपस्थित भएका छन् । इन्द्रमायाको देशमा चरैवेती प्रकाशन चितवनले प्रकाशित गरेको हो ।