कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अमर न्यौपानेको उपन्यास 'करोडौं कस्तुरी' बजारमा

काठमाडौँ । मदन पुरस्कार विजेता साहित्यकार अमर न्यौपानेको नयाँ उपन्यास 'करोडौं कस्तूरी' सार्वजनिक भएको छ । सो उपन्यासलाई मंगलबार राजधानीमा कलाकार हरिवंश आचार्य र डा. केदारभक्त माथेमाले विमोचन गरेका छन् । उपन्यासमा कलाकार हरिवंश आचार्यलाई नै बिम्बात्मक पात्रको रुपमा उभ्याइएको छ ।

कस्तुरीको खोजीमा करोडौ मानिसहरु भौतारिरहेका छन तर ती हरेक मानिस आफैभित्र कस्तुरी हुन्छ भन्ने मूल बिषयबस्तुमा पुस्तक लेखिएको छ । जसलाई भेट्न र पहिचान गर्न मात्र सक्नुपर्छ, आफ्नो गुण चिनेर समाजमा नाम, दाम र प्रतिष्ठा कमाउँन सकिन्छ भन्ने सन्देश पुस्तकले दिएको छ ।

आफ्नै बारेमा लेखिएको पुस्तकका बारेमा हास्य कलाकार हरिवंश आचार्यले बोलेर हसाउनुका साथै भावुक समेत बनाएका थिए । कलाकार आचार्यले मानिसले सधैँ आफ्नो गुणको पहिचान गर्न नसक्ने भएकाले साथी, अभिभावक तथा शिक्षकले त्यो गुण चिनाइदिनुपर्ने बताए । “उपन्यास पढ्दा मेरा आँखा रसाए ”उनले भने ।


‘मलाई विद्यालयमा पढ्न मनै लाग्दैनथ्यो । विद्यालयबाट भागेर हिन्दी चलचित्र हेर्न जान्थेँ । कहिले रञ्जना चलचित्र हल, कहिले विश्वज्योति, कहिले जय नेपाल । रञ्जना हल मेरा लागि रञ्जना मावि थियो । त्यस्तै, विश्वज्योति र जयनेपाल माविमा पनि मैले अध्ययन गर्न थालेँ । मेरा गुरु–गुरुआमा चलचित्रका नायक र नायिका थिए ।
गुरु धर्मेन्द्र, देवानन्द थिए । गुरुआमा हेमा मालिनी थिइन् । यो शिक्षाको प्राक्टिकल पनि हुन्थ्यो । मैले चौरमा गएर आफूले लिएको शिक्षा अरुलाई बाँड्थेँ– विथ एक्सन, विथ डाइलग । एउटा पाठको एक रुपैयाँ लिन्थेँ । कहिलेकाहीँ एक दिनमा मैले तीन–चार सिफ्टसम्म प्राक्टिकल कक्षा दिन्थेँ । रञ्जना, विश्वज्योति माविको पढाईले मात्र नहुँदो रैछ । त्यसैले मलाई एसएलसीले तीन वर्षसम्म झापट हान्यो ।

मैले आफ्नो प्राक्टिकल शिक्षालाई सदुपयोग गर्ने खोजीमा लागेँ । र, राष्ट्रिय नाचघरमा जागिर खान पुगेँ । त्यसपछि मैले मेरोभन्दा ठूलो कस्तूरी हुने व्यक्तिलाई भेटेँ, उहाँको नाम हो– मदनकृष्ण श्रेष्ठ ।’ दर्शकलाई हसाउँदै बोलिरहेका कलाकार हरिवंश आचार्यले दर्शकलाई एकाएक भावुक बनाएँ । यो दर्शकले गहिरो मह मित्रतालाई जोडदार तालीले सम्मान गरे ।

यो ‘उपन्यास करोडौं कस्तूरी हरिवंश आचार्य कलाकार बन्नुअघि अर्थात् कलाकारिताको कस्तूरी चिन्नुअघिको जीवनकथा हो,’ उपन्यासकार अमर न्यौपानेले भने, ‘यो उपन्यास मैले १२ वर्षसम्म शिक्षण पेसा गर्दाको अनुभव पनि हो । विद्यालयमा विद्यार्थीमा निहित प्रतिभाअनुसार पढाइँदैन । यो पुस्तकले हरिवंश आचार्यले आफ्ना कलाकारिताको कस्तूरी चिन्नुअघिको कथा भन्छ ।’

आफूलाई साना विद्यार्थीले ठूला कुरा बुझाएको प्रसंग कोट्याउँदै भने, ‘एक दिन सानो विद्यार्थीलाई एकजना शिक्षकले गृहकार्य नगरेको नाममा कुखुरा बनाएका थिए । त्यो विद्यार्थीले पछि भनेको सुनेँ, हामी स्कुलमा मान्छे हुन आउँछौँ तर शिक्षकले हामीलाई कुखुरा बनाउँछन् ।’ पुस्तक फाइन प्रिन्टले बजारमा ल्याएको हो ।