कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

खातीको “सरम हराएको सहर”

काठमाडौं/ कवि अजम्बरध्वज खातीको नयाँ कवितासंग्रह ‘सरम हराएको सहर’ विमोचन भएको छ । सुब्बेनी आमा रतनबाई खाती प्रतिष्ठान, बुटवलद्वारा काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार एवं संस्कृतिविद् सत्यमोहन जोशीले कवितासंग्रहको विमोचन गरे ।

अशोक स्तम्भ, चिहानबाट उठेको जुलुस, खैँजडीमा खरानीका गीतहरू, सिंहदरबार र बहादुर रगतलगायत शीर्षकका ६४ कविता सरम हराएको सहरमा समाविष्ट छन् । विमोचनपछि जोशीले उक्त कृतिले २१औं शताब्दीको साहित्यिक मोड र धारको झल्को दिने प्रयास गरेको बताए ।

साहित्यकार डा. मोदनाथ प्रश्रितले कृतिले सहरका धेरै पक्षहरूलाई चिनाएको बताए । सहरभित्र हुने व्याप्त भ्रष्टाचार, सहरमा हराएको सुन्दरता र मानवताका पक्षहरूलाई कवि खातीले सुन्दर रूपमा कृतिमा उतारेको प्रश्रितले बताए । सहित्यकार गोविन्दराज भट्टराईले खाती प्राकृतिक लेखन शक्ति भएका कवि भएको भन्दै कवितासंग्रहले सहरी जीवनको शुष्कता, हृदयहीनता र निमुखा असहायहरूको दुर्गति देखाएको बताए ।