त्रिवेणी साहित्य परिषदले २०७२ साल असार १५ गतेका दिन शिव उच्च मा. वि. कावासोती नवलपरासीमा कृति विमोचन, कविता वाचन सहित अति मीठो रूपमा रजत जयन्ती मनायो ।
यस रजत जयन्तीको सभापतित्व संस्थापक सदस्य पुष्पराज कोइरालाजीले गर्नुभएको थियो भने प्रमुख अतिथिमा लकास पौडेल हुनुहुन्थ्यो, विशेष अतिथिमा शिव मा.वि.का प्र अ. चुणामणि शर्माको साथै अतिथिज्यूहरूमा कृष्णादेवी शर्मा श्रेष्ठ, दशरथ तिवारी, डा. धनपति कोइराला, भूसभ गण्डषि, रामहरी शर्मा (शराह), सदानन्द अभागी, दीपक सोती, राधा पाण्डे, लोकनाथ खरेल लगायत लीला मास्की राना, वेदप्रसाद ढकाल, मुना चालिसे, धनबहादुर मास्की राना, हिमलाल चापागाई अर्जून अविरल, सञ्जय भट्टराइ लगायतका साहित्यकारहरूको उपस्थितिमा प्रमुख अतिथि लकास पौडेलले मैनबत्ती बालेर उद्धाटन गर्नुभयो ।
डा. धनपति कोइरालाले स्वागत गर्दै त्रिवेणी साहित्यले साहित्य उत्थानको क्षेत्रमा प्रशंसनीय काम गरेको भन्दै शुभ कामनाको साथसाथै कविता बाचन गर्नुभयो । माथि उल्लेखित नाम भएका सबै साहित्यकारले कविता बाचनको साथै असारे १५को महत्वको बारेमा प्रकाश पार्दै, असारे गीत पनि गाएका थिए ।
असारे गीत गाउनेमा दशरथ तिवारीजीले सर्वप्रथम सुरु गर्नुभयो । हेरौं उहाँले असारमा गाइने गरेका गीतको केही हरफहरू–
असारै खानु दुधिला मकै साउनै खानु खीर
घरमा छैन सितलो बचन मनमा छैन थीर
घुमी घुमी गुडई लाउने त्यो चरो पौरखी
हिड्दछौ तर्की हेर्दिनौ फर्कि नछुने छौरकी
नगर ढिलो मुटुको किलो नहान तरबार
यो मन्मा जस्तो त्यो मन्मा भए भै सक्थ्यो घरबार
दिपक सोतीले पनि स्वरचित असारे गीत गाउनु भएको थियो उहाँको असारे गीतको एक अंस यसप्रकार छ–
हे मेरी पत्नी दहीको ठेकी तसला सारन
च्यूरा भिजाऊ यी मुग्रेकेरा दहिमा मुछन
हालेर च्यूरा मानेर मीठो कुप कुप खाने हो
मानाको च्यूरा चिनीमा घोली हलिलाई दिने हो
कृष्णादेवी शर्मा श्रेष्ठले पनि कविता बाचन पछि असारे गीत गाउनु भएको थियो ।
कृति विमोचन कार्यक्रम
यस कार्यक्रममा दुईवटा कृति विमोचन भयो । वि.संस २०१४ साल माघ ६ गते बाग्लुङ जिल्लाको जैदीमा जन्म भै हाल गैडाकोट –५ ओम शान्तिमार्ग नवलपरासीमा बस्तै आउनु भएका पिता भवीश्वर र माता पवित्रा चालिसेका सुपुत्र कविवर माधवप्रसाद चालिसेको महिमामयी धर्ती (रमास्मृति शोककाव्य सहित) कवितासङ्ग्रह (२०७२) को साथै साहित्यकार रामहरि शर्मा (शराह) ज्यूको पुतलीको बिहे (बालकविता सङ्रग्रह) विमोचन गरिएको थियो ।
महिमामयी धर्ती (कवितासङ्ग्रह)मा ४० ओटा फुटकर कविता को साथमा ७ खण्डमा (कवितैसरि शीर्षक दिएर ) लेखिएको शोक काव्य जसमा ८४ ओटा श्लोक छन् र यो शोककाव्य बहिनी रम्माको सम्झनामा सिर्जना गरिएको छ । यस कृतिको प्रकाशन त्रिवेणी साहित्य परिषदले गरेको छ । यसको मूल्य २१५/– रूपियाँ राखिएको छ ।कविता सबै छन्दमा रचिएका छन् ।
पुतलीको बिहे बाल कवितासङ्ग्रहमा २६वटा बाल कविताहरू समावेश गरिएका छन् ।निकै आकर्षक रूपमा सजिएको यस कृतिको प्रकाशन ब्रह्मबसुन्धरा स्मृति प्रतिष्ठानले गरेको छ र मूल्य१०५/–रुपियाँ राखिएको छ ।
कविताहरू सरल बालकले सजिलै वोध गर्न सकिने खालका छन् र ज्ञान बद्र्धक पनि छन् ।
त्रिवेणी साहित्य परिषद नवलपरासी जिल्लाकै एउटा सकृय एव म पहिलो साहित्यिक संस्था हो र आजको रजत जयन्तीमा आयोजकको रूपमा सचिव गोविन्दराज विनोदीको भूमिका निकै प्रशंसनीय थियो । उहाँले आज विमोचन गरिएका कृतिको टिप्पणी पनि गर्नुभएको थियो । कार्यक्रम छोटो मीठो, संख्यात्मकभन्दा गुणात्मकरूपमा राम्रो भएको महसूस गरिएको थियो ।
सदानन्द अभागी
गतिविधि
त्रिवेणी साहित्यिक परिषदको रजतजयन्ती तथा कृति विमोचन कार्यक्रमको एक झलक

त्रिवेणी साहित्यिक परिषदको रजतजयन्ती तथा कृति विमोचन कार्यक्रमको एक झलक
सम्प्रेषक - कृष्णपक्ष :
साहित्यसंसार डट कम

साहित्यसंसार
साहित्यसंसार डट कम अनलाइन साहित्यिक पत्रिका हो । नेपाली भाषा साहित्यमा भएका विविध गतिविधिहरूको जानकारी तथा साहित्यकारहरूका सिर्जनाहरू क्रमबद्ध रुपमा संकलन गर्ने इन्टरनेट थलोको रुपमा यसलाई लिन सक्नुहुन्छ । लेख, रचना तथा साहित्यिक समाचार पठाउन हाम्रो इमेल ठेगाना - info@sahityasansar.com
थप साहित्यिक गतिविधि