कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

जापानको टोकियोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

जापानको टोकियोमा ६ बुँदे घोषणा पत्र जारी गर्दै दुई दिवसीय चौथो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न भएको छ |दोस्रो दिन भएको साहित्य सम्मेलनमा डायस्पोरिक साहित्यको बिश्वब्यापीकरण, नेपाली साहित्यको उत्थानका लागि अनेसासको आगामी दिशालगायतका बिषयमा अन्तरक्रिया भएको थियो भने जापानमा नेपाली साहित्यको बिकासक्रम’ का बारेमा पत्रकार तिलक मल्ले एक कार्यपत्र प्रस्तुत गरेका थिए |


 सम्मेलनको अन्तर्क्रिया सेसनमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइटेल, अनेसासका केन्द्रिय अध्यक्ष पदम बिश्वकर्मा, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदी, उपाध्यक्षहरु भीमसेन सापकोटा, सुमलकुमार गुरुङ, राधेश्याम लेकाली, प्रकाश पौडेल माइला’ लगायतका साहित्यकारहरुले नेपाली भाषा र साहित्यको श्रीबृद्धिका लागि चालिनुपर्ने भावी आयामहरुका बारेमा बोलेका थिए भने कार्यपत्रमाथि अनेसास जापानका पूर्व अध्यक्ष दिनेशराज ज्ञवालीले टिप्पणी गरेका थिए | कविगोष्ठी सेसनका सञ्चालकद्वय दिपेन्द्र पाठक (जापान) र भीमसेन सापकोटा (अष्ट्रेलिया) को साहित्यिक शैलीमा गरिएको कलात्मक उदघोषणलाई धेरैले सह्राना गरेका थिए |अनेसासका केन्द्रिय अध्यक्ष बिश्वकर्माको सभापतित्वमा भएको साहित्य सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले डायस्पोरामा रहेका साहित्यिक गतिबिधिलाई थप प्रभावकारी र उन्नत बनाउन अनेसासको भूमिका महत्वपूर्ण रहेको बताएका थिए |

टोकियोमा जारी गरिएको घोषणा पत्र : १.नेपाली भाषाका उत्कृष्ट साहित्यिक कृतिहारू छनौट गरेर विभिन्न भाषामा अनुबाद र प्रकाशन गरि नेपाली साहित्यको विश्व ब्यापिकरण अभियानलाई सशक्त बनाउने | २.अनेसास तथा डायस्पोरा (आप्रबासी )नेपाली साहित्यको इतिहास तयार गर्न प्रत्येक च्याप्टरलाइ क्रियाशील बनाउने | ३.अनेसासको च्याप्टर भएको देशमा पुस्तकालय, इ पुस्तकालयको व्यवस्थापन गर्ने | ४.अनेसासको संसोधित विधानलाई यथासिग्र पारित गरि सोहीअनुरूप संस्था संचालन गर्ने | ५.अनेसास तथा डायस्पोराबाट प्रकासित सामाग्रीहरुको संकलन र व्यवस्थापन गर्न डायस्पोरा डेस्कलाई निरन्तरता दिने | ६.आप्रवासमा नेपाली भाषालाई नया पुस्तामा हस्तान्तरण गर्न विभिन्न मुलुकमा पाठशालाहरुको र कार्यमा थप क्रियाशील हुने |