कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अमर न्यौपानेलाई अनेवा नक्षेत्र पुरस्कार

अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान (अनेवा) बेलायतद्वारा प्रत्येक वर्ष प्रदान गरिने ‘अनेवा नक्षेत्र पुरस्कार’ यसपटक ‘करोडौं कस्तूरी’ उपन्यासका लागि अमर न्यौपानेलाई प्रदान गरिने भएको छ । ‘सेतो धरती’का लागि मदन पुरस्कार पाइसकेका न्यौपानेको ‘पानीको घाम’ पनि चर्चित छ ।

प्रतिष्ठान अध्यक्ष विकलचन्द्र आचार्यको अध्यक्षतामा हालै बसेको पुरस्कार छनोट समिति बैठकले यो निर्णय गरेको हो । पुरस्कार समितिमा जयालक्ष्मी राई, नारायण अधिकारी र गोपी सापकोटा छन् ।

पुरस्कार घोषणाले आफूलाई खुसी तुल्याएको उपन्यासकार न्यौपानेले बताए । अनेवा प्रतिष्ठानले विदेश बसेर पनि नेपाली साहित्यलाई दिएको योगदानलाई उनले प्रशंसा गरे ।




अनेवा नक्षेत्र पुरस्कार हरेक वर्ष नेपाली भाषा, साहित्य र संस्कृतिमा योगदान पुर्‍याउने नेपाली साहित्यिक स्रष्टालाई प्रदान गरिन्छ । प्रतिष्ठानले यसअघि यो पुरस्कारद्वारा शान्ता चौधरीलाई ‘कमलरीदेखि सभासदसम्म’ पुस्तकका लागि तथा साहित्य र पत्रकारिताको क्षेत्रमा योगदा गरेबापत लेनिन बञ्जाडे र नारायण अमृत तथा राजकुमार दिक्पाललाई सम्मानित गरिसकेको छ । यो पुरस्कारको राशि ६० हजार रूपैयाँ छ।

सन् २०१२ मा स्थापित प्रतिष्ठानले स्थापनाकालदेखि नै हरेक वर्ष विशेष साहित्यिक कार्यक्रम गर्दै आएको छ।