कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

मैनाली कथा पुरस्कारबाट कथाका साधक सम्मानित

काठमाडौँ, १९ चैत, २०७२-

साहित्यिक पत्रकार सङ्घले आज एक समारोहका बिच कथाका साधक द्वय वनमाली निराकार र नयनराज पाण्डेलाई सम्मान अर्पण गरेको छ | कथाकार वनमाली निराकारलाई मैनाली कथा सम्मान र कथाकार नयनराज पाण्डेलाई रु. एकावन्न हजार राशि सहितको मैनाली कथा पुरस्कारबाट सम्मानित गरिएको हो | कार्यक्रममा पुरस्कृत कथाकारबारे प्रा.राजेन्द्र सुवेदीले प्रकाश पारेका थिए | कथाकार द्वय निराकार र पाण्डेले सम्मानित कथाकारको हैसियतमा मन्तव्य राखेको सो कार्यक्रमलाई ने.प्र.प्र.का उपकुलपति बिष्णुबिभु घिमिरे प्रमुख अतिथि, अन्य अतिथिहरू पूर्व मन्त्री राधाकृष्ण मैनाली, लेखिका गीता केशरी, समालोचक डा.खगेन्द्र लुइँटेल एवं मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले समेत सम्बोधन गरेका थिए |

'कथा दिवस'का रूपमा समेत हरेक साल मनाइंदै आएको यस कार्यक्रममा विभिन्न कथाकारहरूले लघुकथा वाचन गरेका थिए | यस कार्यक्रममा नै कार्यक्रमको अध्यक्षता गरिरहेका कवि राधेश्याम लेकालीको मुक्तक सङ्ग्रह 'समयका घोडाहरू'को लोकार्पण समेत गरिएको थियो | अर्को पटकदेखि मैनाली कथा पुरस्कारको रकम रु.५१ हजारबाट वृद्धि गरी रु.एकलाख एक हजार बनाउने घोषणा कार्यक्रममा गरिएको थियो | जसको घोषणा आफ्नो मन्तव्यका क्रममा पूर्व मन्त्री राधाकृष्ण मैनालीले गरेका थिए | कार्यक्रमलाई कवि यादव भट्टराईले सञ्चालन गरेका थिए | कार्यक्रममा विभिन्न कथाकारले आ आफ्ना लघु कथा वाचन गरेका थिए | स्मरणीय रहोस् साहित्यिक पत्रकार सङ्घले २०३८ सालदेखि निरन्तर रूपमा कथा दिवस मनाउदै आएको छ |