कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

इजरायलमा साहित्यकार सरुभक्तसँग साहित्यिक सम्वाद तथा भेटघाट

कृष्णपक्ष, इजरायल ।
यही नोभेम्बर १९ तारिख शनिबार इजरायलको तेल अभिवमा १०८ औं लक्ष्मी जयन्तीका साथै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति साहित्यकार सरुभक्तसँग साहित्यिक सम्वाद तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायल तथा विश्व नेपाली साहित्य महासंघ इजरायलको संयुक्त आयोजनामा राखिएको सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाली दुतावास इजरायलका महामहिम कार्यवाहक राजदूत श्री रामेश्वर पौडेल साथमा उहाँकी धर्मपत्नी उषा पौडेल, विशिष्ट अतिथि नेपालबाट पाल्नु भएका साहित्यकार सरुभक्त तथा अतिथिहरूमा एन आर एन इजरायलका दिपक ओली, प्रवासी नेपाली मञ्च इजरायलका तीर्थ गौतम लगायत अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायलकी अध्यक्ष भगवती बस्नेतको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको उद्घाटन अतिथिज्यूहरूको साथमा पानसमा दियो बाली महाकवि देवकोटाको तस्वीरमा माल्यार्पण गर्दै गरियो । साथै राष्ट्रिय गान सहित विश्व नेपाली साहित्य महासंघ इजरायलका सचिव गणेश गोतम सागरले आरम्भ गर्नुभएको कार्यक्रममा विश्व नेपाली साहित्य महासंघका तर्फबाट समा श्रीले स्वागत मन्तव्य राख्नुभयो । कार्यक्रममा आयोजक संस्थाद्वय तथा प्रमुख अतिथिबाट संयुक्त रुपमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तलाई दोसल्ला ओढाएर मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रममा अनेसासकी उपाध्यक्ष लक्ष्मी अनुरागी, विनेसाम इजरायलका वरिष्ठ उपाध्यक्ष दिपेन्द्र थापा, प्रवासी नेपाली मञ्चका अध्यक्ष तीर्थ गौतम, एन आर एन इजरायलका अध्यक्ष दिपक ओली र अनेसास इजरायलका सल्लाहकार तथा साहित्यकार कृष्णपक्षले महाकवि देवकोटाको स्मरण गर्दै इजरायलमा भएका साहित्यिक गतिबिधिहरूको बारे आआफ्नो धारणा राख्नुभएको थियो ।कार्यक्रममा विश्व नेपाली साहित्य महासंघकी अध्यक्ष सावित्रा लुइंटेल घिमिरे विशेष कारणले उपस्थित हुन पाउनु भएन ।

यसैबीच अतिथिज्युहरूको हातबाट साहित्यकार भगवती बस्नेतको गीति एल्वम 'सत्प्रयास' को विमोचन पनि गरियो । यस एल्वममा भगवती बस्नेतका शव्दहरूलाई केशव पौडेलले संगीत दिनु भएको छ भने प्रमोद खरेल, मनोजराज, केशव पौडेल, अञ्जु पन्त, निशा देशार र मिरा रानाभाटले स्वर दिनुभएको छ ।

दोश्रो चरणको कार्यक्रमको सञ्चालन अनेसास इजरायलकी उपाध्यक्ष लक्ष्मी अनुरागीले गर्नुभएको थियो । रचना वाचनको क्रममा समाश्री, सुभद्रा घिमिरे, नूतन भुषाल, कल्पना राई (नाना रोदुङ), जय ओडारी, गणेश गौतम सागर, बेलकुमारी घिमिरे, निशा अर्याल, दिया तिवारी, कृष्णपक्ष लगायतका साहित्य अनुरागीहरूले आआफ्नो रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले आफ्नो इजरायल आगमनका अनुभव र साहित्यिक कृतिहरूका विषयमा प्रकाश पार्दै महाकवि देवकोटाबाट नेपाली साहित्यका विद्यार्थीले धेरै पाठ सिक्नुपर्ने बताउनु भयो । उहाँले डायोस्पोरामा नेपाली साहित्यको विस्तार हुदै गएको भन्दै अब मूलधारले डायोस्पोरालाई उपेक्षा गर्ने हो भने नेपाली साहित्य अपूर्ण हुने विचार व्यक्त गर्नुभयो ।अन्तर्कियाका क्रममा आएका प्रश्नहरूको उत्तर दिदै उहाँले नेपाली भाषा सम्बन्धी विवाद चर्किनु दुर्भाग्यपूर्ण भएपनि अन्तत यो चर्चा र बहस छिटै उचित निष्कर्षमा पुगिने र मानक भाषा स्थापित हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

उहाँले प्रवासका साहित्यकारले घरदेश र नोस्टालजियाका पीडाहरूमा मात्रै आफ्ना रचनालाई सीमित नगरी देश काल परिस्थिति परिवेश अनुरुप सिर्जनाको दायरा फराकिलो पारेर मात्र स्तरीय साहित्य पस्कन सकिने सुझाव दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावास इजरायलका कार्यवाहक राजदूत श्री रामेश्वर पौडेलले हाम्रो परीचय र पहिचान भन्नु नेपाली भाषा साहित्य हुन भन्दै इजरायलका साहित्यप्रेमी नेपालीहरूले प्रवासको व्यस्तताको बाबजुद पनि साहित्यिक कृतिहरू प्रकाशन गर्दै आउनु भएकोमा आफूलाई धेरै खुसी लागेको बताउनु भयो । उहाँले आफूपनि बाल्यकालदेखि नै साहित्य अनुरागी भएको भन्दै वर्तमान राजनीतिक बेथिति र विसंगतिप्रति व्यंग्य गर्दै रचिएको कविता वाचन गर्नुभएको थियो ।

अन्त्यमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायलकी अध्यक्ष तथा कार्यक्रमकी सभापति भगवति बस्नेतले नेपाली साहित्य संगीत तथा नाट्य क्षेत्रका महान श्रष्टा सरुभक्तलाई इजरायलमा स्वागत र सम्मान गर्न पाउनु इजरायलमा रहेका साहित्यप्रेमीहरूको सौभाग्य हो भन्दै आफ्नो रचना वाचन सहित कार्यक्रमको समापन गर्नुभयो । कार्यक्रम लाइटनेपाल डट कम तथा रेडियो स्वतन्त्रले प्रत्यक्ष प्रसारण गरेका थिए ।