कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

भागीरथी श्रेष्ठलाई ‘नेपाली साहित्य नारी रत्न’ सम्मान

काठमाडौँ, १ मङ्सिर – पाँच दशकदेखि आख्यान विधामा सक्रिय भागीरथी श्रेष्ठलाई ‘नेपाली साहित्य नारी रत्न’बाट आज सम्मान गरिएको छ। बाह्रौँ त्रिमूर्ति दिवसका अवसरमा त्रिमूर्ति निकेतनद्वारा आज यहाँ आयोजित कार्यक्रममा रु एक लाख राशिको सहित ताम्रपत्रद्वारा श्रेष्ठलाई शताब्दी पुरुष सत्यमोहन जोशीले सम्मान गर्नुभयो ।

सोही अवसरमा शास्त्रीय छन्दकवि मुकुन्द शर्मालाई ’लेखनाथ काव्य पुरस्कार’, नाट्यकर्मी अशेष मल्ललाई “बालकृष्ण सम पुरस्कार” र कवि मञ्जुललाई “देवकोटा काव्य पुरस्कार”बाट सम्मान गरियो । ती पुरस्कारको राशि जनही रु ५० हजार रहेको छ। समारोहमा देशदेशान्तरका २०८ महानुभावलाई शताब्दी पुरुष जोशीद्वारा “सत्यमोहन जोशी शताब्दी पदक” पनि प्रदान गरिएको थियो ।


कार्यक्रममा नई प्रकाशनद्वारा प्रकाशित माधवराज आचार्यद्वारा लिखित कथासङ्ग्रह फुस्रो सिउँदो, मनिराज जोशीद्वारा लिखित ‘हाम्रो संस्कृति र जीवन पद्धति’, भगवती बस्नेतद्वारा लिखित मृत सागरमा म’, उमा कार्कीद्वारा लिखित कवितासङ्ग्रह ‘हिउँको पर्दा’, कृष्ण शाह यात्री र ललिता दोषीद्वारा सम्पादित “नाट्यभूषण: मदनदास श्रेष्ठ, निर्मल ज्ञवालीद्वारा लिखित शान्तिकुमारी राईको यात्रा, प्रा राजेन्द्र सुवेदीद्वारा लिखित नरेन्द्रराज प्रसार्इँकृत एकल जीवनको विश्लेषण समालोचना सङ्ग्रह र सूर्यविक्रम ज्ञवाली, धरणीधर शर्मा तथा पारसमणि प्रधानबारे नरेन्द्र प्रसाईँद्वारा लिखित जीवनी सङ्ग्रह सूधपा’नामक कृतिको लोकार्पण गरियो ।



सो अवसरमा शताब्दी पुरुष जोशीले धेरै वर्ष बाँचेर देश तथा यहाँको भाषासाहित्यको सेवा गर्न सके मात्र बाँच्नाको अर्थ रहन्छ भन्नुभयो । सम्मानित व्यक्तित्व श्रेष्ठले कुनै न कुनै सिर्जनाबाट मानवमा चेतना फैलाउनुपर्नेमा जोड दिनुभयो। साहित्यकार मोदनाथ प्रश्रितले शताब्दी पुरुष जोशी जातीय भावनाबाट माथि उठेका व्यक्तित्व हुुनुहुन्छ भन्नुभयो।

कार्यक्रममा निकेतनका अध्यक्ष इन्दिरा प्रसाईँ, सदस्य सचिव नरेन्द्रराज प्रसाईँ, साहित्यकार माया ठकुरी, राजेन्द्र सुवेदी, प्रा डा उषा ठाकुर, प्रा डा गार्गी शर्मा, मदनदास श्रेष्ठ, उषा शेरचन, यादव भट्टराई लगायत स्रष्टाले आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो । रासस ।