आस गुरुङ, लमजुङ / कान्तिपुर
कार्तिक २६, २०७३- राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले देशव्यापी साहित्य यात्रा थालेको छ । साहित्य यात्राको थालनी राष्ट्रकविकै जन्मस्थल लमजुङबाट भएको छ ।
प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभू घिमिरेका अनुसार, राष्ट्रकवि घिमिरेको जन्मशताब्दीको पूर्वसन्ध्या अवसरमा प्रतिष्ठानले साहित्यिक तथा सांस्कृतिक कार्यक्रमको सुरुवात गरेको हो । राष्ट्रकवि गत असोजमा ९८ औं जन्मोत्सव मनाएका छन् ।
‘यो कार्यक्रम नेपालका ७५ जिल्लामा सञ्चालन हुनेछ,’ होमस्टे गाउँ काउलेपानीमा आयोजित दुईदिने कार्यक्रममा उनले भने, ‘भारतको दार्जिलिङसहित विदेशमा पनि कार्यक्रम गरिनेछ ।’ देशमा स्थानीय साहित्यिक संघसस्था र विदेशमा अन्तर्राष्ट्रिय साहित्यिक संघसंस्थासँग सहकार्य गरेर कार्यक्रम अघि बढाइने उनले बताए । कार्यक्रम मंगलबार र बुधबार स्थानीय स्तरमा नेपाली लेखक संघको आयोजना र राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान लमजुङको सहआयोजनामा भएको हो ।
संस्कृतिविद् विणा पौडेलले राष्ट्रकविको सम्मानमा सवै साहित्य अनुरागी लाग्नुपर्नेमा जोड दिइन् । ‘राष्ट्रकवि हाम्रो अमूल्य निधि हुनुहुन्छ, उहाँको दीर्घायुको कामना र सम्मान हामीले गर्नुपर्छ,’ उनले भनिन्, ‘साहित्य, संस्कृति र कलाको संरक्षणमा लागे उहाँप्रतिको सम्मान हुन्छ ।’
प्रतिष्ठानको समालोचना विभाग प्रमुख प्रा.डा. ज्ञानु पाण्डेले राष्ट्रकवि सबैका गुरु भएको उल्लेख गर्दै थपिन्, ‘साहित्यमा उहाँको योगदानको वर्णन गरेर सकिँदैन । सबै मिलेर उहाँको कृतिलाई माया गरिए उहाँप्रतिको सम्मान अझ बढ्छ ।’
प्रकृति र राष्ट्रप्रेम राष्ट्रकविका कविताको मुख्य आधार रहेको उल्लेख गर्दै कवि विजयराज न्यौपानेले सबै मिलेर राष्ट्र, प्रकृति र उहाँलाई जोगाउनुपर्ने अनि जन्मशताब्दी गृहजिल्लामै मनाउनुपर्ने बताए ।
‘राष्ट्रकविलाई जीवन्त राख्नुपर्छ,’ नेपाली लेखक संघका जिल्ला अध्यक्ष थकित यात्रीले भने, ‘साहित्यको सम्मान हुनुपर्छ र नेपाली साहित्यलाई विश्वव्यापी बनाउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’
कार्यक्रममा गुरुङ साहित्यकार आसबहादुर गुरुङले राष्ट्रकविको ‘गौरी शोककाव्यका केही श्लोकलाई गुरुङ भाषामा अनुवाद गरी सुनाए । ‘राष्ट्रकविको कृति सरल छ, जीवन छ, त्यसैले अन्य भाषामा अनुवाद गर्दा त्यति समस्या छैन,’ उनले भने । गुरुङले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ लाई गुरुङ भाषामा अनुवाद गरेर प्रकाशित गरेका छन् ।
मगर अगुवा बलबहादुर रानाले मगरभाषामा सालीभेनाको गीत प्रस्तुत गर्दै भाषालाई जोगाउने एउटा मात्रै माध्यम गीत बन्न पुगेको बताए । दुरा भाषाका अनुसन्धानकर्ता कुन्छाका मुक्तिनाथ घिमिरेले दुरा भाषाको वर्णमाला तयार पारिएको बताए । ‘दुरा भाषा संकटमा छ । कसैले बोल्दैनन् । शब्द टिपेर वर्णमाला बनाएको छु,’ उनले भने । लमजुङको दुराडाँडा मौजमा पर्ने ६ गाविसमध्ये ५ गाविसहरू सिन्दुरे, दुराडाँडा, चन्द्रेश्वर, धुसेनी र नेटामा दुरा जातिको बसोबास रहेको उनले बताए ।
कार्यक्रममा हिमालचुली कला साहित्य प्रतिष्ठानका अध्यक्ष बेन सुयेल ‘बिनु’, मुक्तक मञ्चका अध्यक्ष वसन्त ‘अधीर’, छन्दकला प्रतिष्ठानका अध्यक्ष वासु थापा, साहित्यकार तेजनारायण अधिकारी, शालिग्राम अधिकारी, कमला केसी लगायतले राष्ट्रकवि घिमिरेका कृतिबारे चर्चापरिचर्चा गरे, रचना सुनाए ।